विश्व अर्थतन्त्र मन्दी उन्मुख

0
Shares

आकाशिएको मुद्रास्फीति नियन्त्रणका लागि विकसीत तथा विकासोन्मुख राष्ट्रहरुले अपनाएको संकुचित मौद्रिक नीतिका कारण सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको छ ।

सन् २०२२मा विश्वव्यापी अर्थतन्त्र १०० ट्रिलियन डलरमा विस्तार भएको थियो । तर मुद्रास्फीति उच्च भएका कारण राष्ट्रहरुले अपनाएको संकुचित नीतिका कारण १०० ट्रिलियन पुगेको विश्व अर्थतन्त्र खुम्चिने बेलायतको अर्थशास्त्र तथा बिजनेस अनुसन्धान केन्द्र (सीइबीआर)ले जनाएको छ ।

सीइबीआरका अध्यक्ष के डेनियल निउफिल्डले आक्रामक रुपमा ब्याज दर वृद्धिका कारण आगामी वर्ष विश्व अर्थतन्त्र मन्दीमा जाने बताएका छन् । वल्र्ड इकोनोमिक लिगमा बोल्दै उनले मुद्रास्फीति विरुद्धको युद्ध अझै नसकिएको र सन् २०२३ मा केन्द्रीय बैंकहरु मुद्रास्फीति नियन्त्रण गर्न थप आक्रामक भएर मुद्रास्फीति विरुद्ध संघर्षशील रहने बताए ।

मुद्रास्फीति नियन्त्रण गर्न बयाज दर बढाउँदा आर्थिक वृद्धि कम हुने सीइबीआरको प्रतिवेदनमा उल्लेख छ । यस्तै वल्र्ड बैंक, अन्तराष्ट्रिय मुद्रा कोषले पनि सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धि दर २५ प्रतिशतले खुम्चिएर २ प्रतिशत भन्दा कम हुने प्रक्षेपण गरेका छन् ।

सन् २०३७ सम्म विकासशील देशहरु विकसीत देशहरुमा परिणत हुने र विश्वको कुल ग्राहस्थ उत्पादन दुई गुणाले बढ्ने सीइबीआरले जनाएको छ । पूर्वी एशिया र प्यासिफिक क्षेत्रको अर्थतन्त्र विकास भई विश्व अर्थतन्त्रको तेस्रो स्थानमा आउने तर युरोपको आर्थिक वृद्धि खुम्चिएर पाँचौ स्थानमा रहने प्रतिवेदनमा उल्लेख छ।

साथै चीनले अवलम्बन गरेको शून्य कोभिड नीति, पश्चिमा मुलुकसँगको व्यापारमा आएको सुस्तताका कारण सन् २०३६ सम्ममा अमेरिकी अर्थतन्त्रलाई पछि पार्न नसक्ने अनुमान छ ।

सीइबीआरले गरेको अनुसन्धानको प्रतिवेदनमा सन् २०३५ सम्ममा भारतीय अर्थतन्त्रको आकार १० ट्रिलियन डलरको पुग्ने र सन् २०३२ मा भारतीय अर्थतन्त्र विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने उल्लेख छ ।

यसैगरी हाल तेस्रो स्थानमा रहेको बेलायती अर्थतन्त्र आगामी १५ वर्षमा छैठौँ स्थानमा पुग्ने र फ्रान्स सातौँ स्थानमा रहने प्रक्षेपण सीइबीआरले गरेको छ ।

बेलायतमा आर्थिक वृद्धि सुनिश्चित गर्ने नीतिहरुको कमी र बेलायती सरकारको स्पष्ट दुरगामी दृष्टिकोण नभएका कारण युरोपियन देशहरुकै लाइनमा आर्थिक वृद्धि हुने अनुमान छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।