चीनले अनिवार्य क्वारान्टाइनको नियम हटाएपछि उचालियो विश्व सेयरबजार

0
Shares

कोभिड–१९ का कारण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चीनले अनिवार्य क्वारान्टाइनको नियम हटाएको छ । उक्त नियम हटाएपछि विश्व सेयरबजारमा सकरात्मक परिवर्तन आएको छ ।

शून्य कोभिड नीतिका कारण खुम्चिएको चीनको अर्थतन्त्र कोभिड नीति खुकुलो बनाउदा चलायमान भएको छ । जसको प्रभाव विश्व सेयरबजारमा समेत परेको छ ।

जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.५ प्रतिशतले बढेको छ । चीनको ब्लुचीप सेयर सूचांक १.१ प्रतिशत उकालो लागेको छ भने हङकङको सेयर सूचांक पनि १.१ प्रतिशतले बढेको छ ।

जापानको सेयर सूचांक निकेइ ०.३ प्रतिशत उकालो लागेको छ । यसैगरी अमेरिकी सेयर सूचांक एस एन्ड पी ५०० इमिनी ०.६ प्रतिशतले बढेको छ ।

नेपालको सेयर सूचांक नेप्से पनि प्रिओपनिङ सेसन मै हरियालीमय भएको छ । प्रि–ओपनिङ मै नेप्से २.१७ प्रतिशतले बढेको छ ।

चीनले कोभिड नीति खुकुलो बनाउदा लगानीकर्ताहरु हर्षित देखिएका छन् । हाल चीनमा फैलिएको कोभिड–१९ संक्रमणका कारण औद्योगिक सहरहरुमा देखिएको प्रभाव सन् २०२३ को जनवरीमा रिकर्भर हुने र आर्थिक गतिविधिहरु पनि वृद्धि हुने जेपी मोर्गन एसेट म्यानेजमेन्ट कम्पनीका विश्व बजार रणनीतिज्ञ छावपिङ जुले जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।