सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने प्रयासमा चीन

0
Shares

लामो समयसम्म कोभिड–१९ का कारण सुस्त बनेको चिनियाँ अर्थतन्त्रलाई चलायमान गराउने कसरतमा चीन जुटेको छ ।

कोभिड नियन्त्रणका लागि शून्य कोभिड नीति अपनाउँदा चीनको आर्थिक वृद्धि दर खुम्चिएको छ । शून्य कोभिड नीति खुकुलो पार्नुपर्ने दबाब आएपछि चीनले नीति खुकुलो पारी बजार विस्तारमा काम गरिरहेको चिनियाँ समाचार माध्यम पिपुलस डेलीले जनाएको छ ।

कोभिड–१९का कारण समस्यामा परेका उद्योग तथा व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर मिनाह गरिदिने र मझौला तथा घरेलु उद्योगहरुको समर्थनमा राहत प्याकेज जारी गर्ने तयारी चीनले गरेको छ ।

कोभिड संक्रमण बढ्दै गएपछि चीनले संक्रमण फैलिएका सहरहरुमा लकडाउन घोषणा गरेको थियो । जसकारण विश्वका ठूला ठूला बहुराष्ट्रिय कम्पनी देखि चीनका ठूला कम्पनीहरुको उत्पादन ठप्प भएको थियो । शून्य कोभिड नीतिको चर्को विरोध पछि चीनले नीति खुकुलो बनाएको छ । नीति खुकुलो हुँदा बन्द भएका उद्योगहरु सञ्चालनमा आई उत्पादन र आपूर्ति कार्य तीव्र रुपमा भएको समाचार माध्यममा उल्लेख छ ।

एक दशक यता चीनले उद्योग व्यवसायको विस्तार, पारम्परिक व्यवसायिक प्रणालीलाई डिजिटल प्रणालीमा परिणत, आइटी उद्योगको विस्तार, इनोभेटिभ समाधानको विकास लगायतका क्षेत्रमा ठूलो फड्को मारेको छ । एक दशकको समयमा चीनमा उद्योगहरुको सङ्ख्या ५ करोड ५० लाखबाट बढेर १६ करोड ३० लाख पुगेको छ ।

उद्योगहरुको सङ्ख्यामा वृद्धि भएसँगै चिनियाँ अर्थतन्त्र विश्वको दोस्रो स्थानमा पुगेको छ । कोभिड–१९ का कारण विविध समस्याहरुबाट गुज्रिरहेको चिनियाँ अर्थतन्त्र सुधारका लागि बजार केन्द्रीत नीति, नियम र लगानीकर्ताहरुको आत्मबल बढाउने किसिमका नीतिहरु ल्याउने तयारीमा चीनले गरेको समाचार माध्यममा उल्लेख छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।