विश्व बजारका लगानीकर्ता जोखिमका बीच लगानी बढाउँदै

0
Shares

विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेकै बेला सेयर बजारका लगानीकर्ताहरुले जोखिमका बीच नै लगानी बढाउन थालेका छन् । विभिन्न अवरोध यथावत् रहेपनि लगानीकर्ताहरुको मनोबल बढ्दा सन् २०२३ को सुरुवातमा विश्व सेयर बजार उकालो लागेको हो ।

रुस–युक्रेन युद्धले सिर्जना गरेको माग आपूर्ति श्रृङ्खला अवरोध, चीनमा फैलिएको कोभिड संक्रमण, चार दशक यताकै उच्च विन्दुमा पुगेको मूल्यवृद्धि, मूल्यवृद्धि नियन्त्रणका लागि केन्द्रीय बैंकहरुले आक्रामक शैलीमा ब्याजदर बढाएका कारण लगानीकर्ताहरुको मनोबल कमजोर हुन पुगेको थियो ।

तर सन् २०२३ को सुरुवातमा विश्व सेयरबजारका लगानीकर्ताहरु आगामी चुनौतीका लागि तयार रहेको सेयर सूचांकमा भएको वृद्धिले देखाएको छ । आइटी कम्पनीको सेयरमा गिरावट आएता पनि लगानीकर्ताहरुले हेल्थकेयर, फूड म्यानुफ्याक्चर जस्ता सेयरमा लगानी बढाउँदा सेयर सूचांकहरु बढेका छन् ।

यस्तै लगानीकर्ताहरुले कमोडिटि मार्केटमा पनि सफ्ट कमोडिटिमा नभई तेल, प्राकृतिक ग्यास, सुन जस्ता हार्ड कमोडिटिमा लगानी बढाउँदा विश्व कमोडिटि मार्केट पनि बढेको छ ।

एमएससीआईको विश्व सेयर सूचांक ०.२ प्रतिशतले बढेको छ । सन् २०२२ मा १३ प्रतिशतले ओरालो लागेको स्टक्स ६०० सूचांक सन् २०२३ को सुरुवातमा ०.६ प्रतिशतले बढेको छ । युरोपियन सेयर सूचांक एफटीएसई१०० १.४ प्रतिशतले बढेको छ । यस्तै अमेरिकी सेयर सूचांकहरु पनि ०.५ प्रतिशतले बढेका छन् ।

चिनियाँ सेयर सूचांक साङ्घाई कम्पोजिट ०.८८ प्रतिशत, हङकङको हयाङस्याङ सूचांक १.८४ प्रतिशत, भारतको सेन्सेक्स सूचांक ०.२१ प्रतिशत र जापानको निकेई २२५ सेयरसूचांक ०.०३२ प्रतिशतले बढेको छ ।

नेपालको सेयर बजारमा समेत सुधारात्मक लयमा देखिएको छ । मंगलबारको बजारमा सूचक समान्य घटेपनि कारोबारमा सुधार आएको छ । पछिल्लो तिन दिन यता नेपालको सेयर बजारमा उच्च सुधार आएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।