क्युबाका केन्द्रीय बैंकका अध्यक्ष बर्खास्त, बैंकविरुद्ध ७ करोड २० लाख डलरको मुद्दा दायर

0
Shares

क्युबाले केन्द्रीय बैंकका अध्यक्ष मार्था सबिना विल्सनलाई पदबाट हटाइएको छ । बैंकका अध्यक्ष विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको हो ।

‘जनगणतन्त्र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलको अनुरोधमा क्युवाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरोको अनुमोदनपछि राज्य परिषद्ले जोकिन अलोन्सो भाज्क्वेजलाई केन्द्रीय बैंकको अध्यक्षमा पदोन्नति गर्न सहमत भएको छ,’ क्युवाका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनान्साठी वर्षीय भाज्क्वेजले सन् २०१७ देखि मर्कन्टाइल सोसाइटी अफ क्युबान एक्सचेन्ज हाउस (क्याडेका) को अध्यक्षका रूपमा काम गरेका थिए ।

केन्द्रीय बैंकले लण्डनको एक अदालतमा नतिरेको ऋणलाई लिएर उच्च कानुनी लडाईंको सामना गरिरहेको बेला यो निर्णय आएको हो । बैंकविरूद्ध क्युवाली लगानी कोष (सीआरएफ–१) ले क्युबासँग हाल रहेको दुई वटा ऋणको साँवा र ब्याज बापत करिब सात करोड २० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ।

सिआरएफ–१ का अनुसार बैंकले फिडेल क्यास्ट्रो क्युबाका नेता रहेका बेला युरोपका वाणिज्य बैंकबाट ऋण लिएको थियो । क्युवाले उक्त ऋण अवैध भएको र सीआरएफ–१ लाई ‘गिद्धे कोष’ को रुपमा व्याख्या गरेको छ ।

‘गिद्धे कोष’ भनेका संकटग्रस्त समयका लागि छुट्ट्याइएको ऋण कोष हो, जसले धेरै कमजोर वा डिफल्ट मानिएको ऋणमा लगानी गर्दछ । यदि लन्डनको अदालतमा लगानी कोष कायम भयो भने यसले अन्य व्यावसायिक ऋणदाताहरूका लागि ढोका खोल्न सक्छ । कोषले उनीहरूलाई अरबौं डलर तिर्न बाँकी रहेको बताएका छन् ।

कोभिड–१९ महामारीका बेला पर्यटनमा आएको गिरावट र अमेरिकी प्रतिबन्धका कारण व्यापारमा लगाइएको प्रतिबन्धका कारण क्युबाको अन्तर्राष्ट्रिय सञ्चिति अनिश्चित अवस्थामा पुगेको हुनसक्ने अर्थशास्त्रीहरूले बताएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।