भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

0
Shares

भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो ।आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९७ पैसा र डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको हो । त्यस्तै हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको छ ।

भारतीय आयल निगम (आइओसी) ले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ । नयाँ मूल्यसूची आएपछि अहिलेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई १ अर्ब रुपैयाँ नाफा हुन्छ ।

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले माघ २३ गतेमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । सो समयमा पेट्रोलमा र डिजेटल तथा मट्टीतेलमा समान ३ रुपैयाँ वृद्धि गरिएको थियो भने हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो । उक्त समयमा पेट्रोलमा ८.०१ रुपैयाँ, डिजेटलमा ७.९८ रुपैयाँ, मट्टीतेलमा ४.६१ रुपैयाँ र हवाइ इन्धनमा ७.८० रुपैयाँले बढेर आएको थियो ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ । यस्तै हवाइ इन्धन प्रतिकिलोलिटर १७० रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर १.४२ अमेरिकी डलर र एलपी ग्याँसको भाउ प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ रहेको छ ।

विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा आन्तरिक बजारमा मूल्य धेरै नबढाएको कारण निगमको सञ्चित नोक्सानी धेरै रहेको जनाउँदै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन आनाकानी गर्दै आएको छ । मूल्य बढ्दा बढाइहाल्ने निगमले घटेर आउँदा पेट्रोलियम पदार्थको मूल्य घटाउने नगर्दा आलोचित समेत हुँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।