दक्षिण एशियाली राष्ट्रका बालबालिकामा कोभिड–१९ को असर जीवन्त रहनेः विश्व बैंक

0
Shares

दक्षिण एशियाली राष्ट्रका बालबालिकाहरुमा कोभिड–१९ संक्रमणको असर जीवन्त रहन सक्ने विश्व बैंकले जनाएको छ ।

सन् २०२० बाट विश्वभर फैलिएको कोभिड–१९ का कारण अरु राष्ट्रहरुको तुलनामा दक्षिण एशियाली राष्ट्रका स्कूलहरु लामो समयसम्म बन्दको अवस्थामा थिए । स्कुल बन्द भई घरमा बसेका २५ वर्ष मुनिका बालबालिका तथा युवाहरुमा कोभिड–१९ संक्रमणले पुर्‍याएको क्षति जीवन्त रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ संक्रमणका कारण स्कुलहरु बन्द हुँदा त्यसको प्रभाव बालबालिकाको बैद्धिक क्षमता विकास र मनो–सामाजिक विकासमा परेको प्रतिवेदनले दर्शाएको छ । स्कुल बन्द हुँदा १४ वर्ष मुनिका बालबालिकाहरुको सिकाई क्षमतामा असर गरेको छ । जसकारण कोभिड संक्रमण फैलिनु पहिलेका बालबालिकाको तुलनामा यी बालबालिकाले भविष्यमा गर्ने आय आर्जनमा १४.४ प्रतिशतको गिरावट आउने छ । यस्तै कोभिडको समयका पाँच वर्ष मुनिका बालबालिकाहरुपछि युवा अवस्थामा पुग्दा उनीहरुकोे सिकाई तथा विश्लेषण क्षमतामा कोभिड पछिका बालबालिका र अघिको समयका बालबालिकाको तुलनामा २५ प्रतिशतको गिरावट आउने प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ संक्रमणका कारण दक्षिण एशियाली राष्ट्रहरुमा २०२० को अप्रिल महिना देखि सन् २०२२ को मार्च महिनासम्म स्कुलहरु पूर्ण तथा अल्पकालीन रुपमा बन्द रहेका थिए । विश्वका अन्य ठाउँका देशहरुमा स्कुलहरु कुल सञ्चालन दिनको ५२ प्रतिशत दिनहरुमा बन्द थिए भने दक्षिण एशियाली राष्ट्रका स्कुलहरु कुल सञ्चालन दिनको ८३ प्रतिशत दिन बन्द थिए । दुई वर्षमा स्कुल तथा कलेजहरु बन्द हुँदा विद्यार्थीहरुको अध्ययन क्षमतामा कोभिड पहिलेका बालबालिकाको तुलनामा ६० प्रतिशतले गिरावट आएको रिर्पोटमा छ ।

यस्तै पाकिस्तानमा कोभिड पहिलेको समयमा विद्यालय भर्ना हुने विद्यार्थीहरुको सङ्ख्या र कोभिड पछि विद्यालय भर्ना हुनेहरुको सङ्ख्यामा भारी गिरावट आएको विश्व बैंकले जनाएको छ । कोभिड–१९ का कारण गरिबीको रेखामुनि रहेका मानिसहरुको सङ्ख्यामा वृद्धि भएको र पर्याप्त खाद्यान्न उपलब्ध नहुँदा नवजात शिशु तथा बालबालिकाको मानसिक तथा बौद्धिक क्षमतामा कमी आएको छ । यस समस्यालाई नियन्त्रण गर्नका लागि देशहरुले समयमा ध्यान पु¥याउन आवश्यक रहेको विश्व बैंकले औल्याएको छ ।

समस्याको समाधानका लागि देशहरुले कोभिड विरुद्धका भ्याक्सिनेसन र सन्तुलित आहारको व्यवस्था गर्नुपर्ने विश्व बैंकले सुझाएको छ । यस्तै विद्यार्थीहरुको बौद्धिक तथा मनो–सामाजिक विकासका लागि प्राथमिक शिक्षाका कार्यक्रमहरुमा ध्यान दिनुपर्ने र गरिबीको रेखामुनि रहेका परिवारहरुलाई नगद राहत दिनुपर्ने, स्कुलहरु निरन्तर सुचारु गर्ने, अध्ययनमापछि परेका विद्यार्थीहरुलाई विशेष रेमिडियल कक्षाहरु सञ्चालन गर्ने र युवाहरुका लागि स्वरोजगार सम्बन्धी तालिमहरु, व्यवहारिक सीपहरु सिकाउनुपर्ने सुझाव दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।