प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रले सङ्कटपूर्ण परिस्थितिको सामना गरिरहेको बताएका छन् ।
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयङ्गम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज आयोजित कार्यक्रममा उनले नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न अग्रसर रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव रहेकामा जोड दिँदै संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताए ।
उनले ७३ औँ प्रजातन्त्र दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, लोकतन्त्र र संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयनसहित आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्न सफल रहोस् भन्ने कामनाका साथ शुभकामना व्यक्त गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया