कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

0
Shares

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिले शनिबार गुरुङलाई सीईओमा नियुक्त गरेको हो। गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ।

अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो।

गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए । उनीसँग म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सीईओ भएर काम गरेको अनुभव छ । उनी खुला प्रतिस्पर्धाबाट म्यानमारको याङुनमा रहेको म्यानमार सिटिजन्स बैंकको सीईओमा नियुक्त भएका थिए ।

गुरुङले नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गरेका छन् । उनले नेपाली र विदेशी गरेर आधा दर्जन बढी बैंकमा २७ वर्ष काम गरिसकेका छन् । गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए ।

कृषि विकास बैंकको बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जनाको नाम सर्टलिष्ट गरिएको थियो । ५ जनाबाट उनी सीईओ बनेका हुन् । गुरुङसँगै प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र बिष्णु देव यादव अन्तिम पाँचमा छनोट भएका थिए। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।