झुलाघाटमा पक्की पुल निर्माण गर्ने उद्योग मन्त्री भण्डारीको प्रतिबद्धता

Archana Neupane
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल–भारत सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण गर्ने दाबी गरेका छन् ।

प्रेस चौतारी बैतडीले सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले पक्की पुलका साथै महाकाली नदीमा अन्य स्थानमा पनि पुल बनाउन पहल भइरहेको दाबी गरेका हुन् ।

यस्तै उनले गौरवका आयोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको बताए । सुदूरपश्चिममा रहेका गौरवका आयोजनालाई प्राथमिकता राखेर काम भइरहेको उनको भनाइ छ ।

सरकारको प्राथमिकताअनुसार कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको, दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई अगाडि बढाउने काम भइरहेको बताउँदै उनले कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने महत्त्वपूर्ण निर्णय भएको दाबी गरे ।

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका मन्त्री भण्डारीले सरकारले औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र वाणिज्य नीतिमा केही परिमार्जन गरिने उद्घोष गरे । उनले उक्त नीतिमा परिमार्जन गर्नुपर्ने कुरालाई प्रधानमन्त्रीको भारत भ्रमणका बेला राखिने जानकारी दिए ।

बैतडीमा रहेका खानीहरूको पहिचान गरी ती खानीहरूको उत्खनन गरिने भण्डारीको भनाइ छ । पाटनमा ११ महिनादेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालन गरिने समेत बताए ।

सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै मन्त्री भण्डारीले कर्मचारी अभाव हुन नदिने दाबी गरे । मन्त्री भएपश्चात् पहिलोपटक गृह जिल्ला पुगेका भण्डारीलाई स्वागत र सम्मान गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।