प्रभु ग्रुपको रेमिट्यान्स कम्पनी प्रभु मनी ट्रान्सफरको आम्दानीमा गिरावट आएको छ।
सन् २०२१ मा ५४ करोड ८० लाखको कारोबार गरेको कम्पनीले सन् २०२२ मा ४४ करोड १० लाख आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी १९ प्रतिशतले घटेको हो।
कम्पनीको आम्दानीमा गिरावट आएता पनि अन्य वित्तीय सूचांकहरुमा प्रभाव देखिएको छैन । सन् २०२१मा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको कम्पनीको नाफा कुल आम्दानीको ३६.०१ प्रतिशत रहेको थियो भने सन् २०२२मा सो नाफा ३६.४४ प्रतिशत रहेको छ । यस्तै कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता सन् २०२१का कुल कर्जाको १.०४ गुणा थियो भने सन् २०२२ मा ०.९८ गुणा रहेको छ।
कम्पनीको आम्दानीमा गिरावट आउनुको मुख्य कारण रेमिट्यान्स कम्पनीहरुबीच बढ्दै गएको प्रतिस्पर्धा र आन्तरिक रेमिट्यान्समा आएको कमी रहेको छ । यस्तै अमेरिकी डलर र नेपाली रुपैयाँबीचको अस्थीर विनिमय दर र टी+३ दिन सेटलमेन्ट समय भएका कारण कम्पनीको आम्दानी प्रभावित भएको छ । साथै कम्पनीले लिएको चालु पुँजी कर्जाको ब्याजदरमा भएको वृद्धिले पनि कम्पनीको आम्दानी प्रभावित बनेको छ।
तथापि २० वर्ष मनी ट्रान्सफर बिजनेसमा आवद्ध भएका सञ्चालकहरुको अनुभव र प्राविधिक ज्ञानले कम्पनीको घाटा न्युनीकरण भई आगामी समयमा आम्दानी बढ्ने देखिन्छ । हाल कम्पनीको प्रबन्ध निर्देशक रामेश्वर सापकोटा रहेका छन् ।
यस्तै नेपालबाट बाहिरिनेहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गएको छ । जसकारण नेपालमा भित्रिने रेमिट्यान्सको रकम बढ्ने देखिन्छ । रेमिट्यान्समा वृद्धि भएसँगै कम्पनीको आम्दानीमा पनि सकरात्मक प्रभाव पर्ने छ ।
सन् २००२ मा स्थापना भएको कम्पनीले देश भित्र र बाहिर रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ । प्रभु मनी ट्रान्सफरको प्रयोग गरी कुवेत, मलेसिया, कतार, साउदी, युएइ र अमेरिकामा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउँदै आएका छन्।
कम्पनीले नेपाल बाहिर २५ वटा बैंक तथा वित्तीय संस्थाहरुमा आफ्नो सेवा विस्तार गरेको छ भने नेपालमा ६ हजार बैंकिङ एजेन्ट, ३ हजार सहकारी संस्थाका एजेन्ट र ३ हजार व्यक्तिगत एजेन्टसँग मिली काम गरिरहेको छ।
कम्पनीले १ अर्ब ५९ करोड ७७ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया