वाणिज्य बैंक र फाइनान्सले घटाउँदै आएको मार्जिन कर्जा विकास बैकले किन बढाइरहेका छन् ?

0
Shares

नेपाल राष्ट्र बैंकको कडाईपछि पनि विकास बैंकहरुले सेयर धितो कर्जाको लगानी (मार्जिन लोन) बढाइरहेका छन् । वाणिज्य बैंक तथा फाइनान्स कम्पनीले नयाँ कर्जामा रोक गर्दै पुरानोलाई समेत घटाउँदै आएकोमा विकास बैंकहरुले भने बढाएका हुन् ।

चालु आर्थिक वर्षको पुससम्ममा १७ विकास बैंकहरुले कुल १२ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बरावरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो कर्जा रकम गत असार महिनाको तुलनामा ७.७१ प्रतिशतले धेरै हो । विकास बैंकहरुले गत असारसम्ममा कुल ११ अर्ब ७७ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका थिए ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमा अनुसार विकास बैंकहरुले सेयर धितो कर्जा प्रबाह गरेका हुन् । वाणिज्य बैंक र फाइनान्स कम्पनीले सीमा भन्दा माथि लगानी गरेकाले घटाएका हुन् भने विकास बैंककहरुले सीमा अनुसारको बाँकी रहेको कर्जा लगानीलाई निरन्तरता दिएको एक बैंकरले बताए ।

गत असारको तुलनामा पुससम्ममा वाणिज्य बैंकहरुको मार्जिन कर्जा १० र फाइनान्स कम्पनी ३ प्रतिशतले घटेको छ । त्यसका साथै चालु आर्थिक वर्षको मौद्रिक नीतिले २५ लाख रुपैयाँ सम्मको मार्जिन कर्जालाई न्यून जोखिम भन्दै जोखिम भारीत व्यवस्था घटाएपछि विकास बैंकहरुले लगानी बढाउन थालेको हुन् ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरेको छ ।

यसभन्दा अघिको एक संस्थाबाट एक व्यक्तिले ४ करोड भन्दा धेरै लिन नपाउने तल्लो सीमालाई खारेज गरेको छ ।

कोरोना महामारीको असर कम भएसंगै अर्थतन्त्रले गति लिन थालेपछि बैंक वित्तीय संस्थामा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव बढ्न थाल्यो । बैंकिङ प्रणालीमा देखिएको यो समस्याले ब्याजदर बढायो । ब्याजदर बढ्न थालेपछि सेयर बजार ३ हजार २ सयको बिन्दुबाट निरन्तर घट्न थाल्यो । धितोपत्र बजार पछिल्लो समयमा एक हजार ८ सय अंक भन्दा तल झरेपछि केन्द्रीय बैंकले नीति सामान्य परिवर्तन गर्यो ।

चालु आवको पुससम्ममा २२ वाणिज्य बैंकहरुले ५८ अर्ब ४० करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन । यो कर्जा रकम गत असारको तुलनामा ९.८९ प्रीतशतले थोरै हो । गत असारसम्ममा बैंकहरुले ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका थिए ।

त्यसैगरी पुससम्ममा १७ फाइनान्स कम्पनीले ३ अर्ब ७९ करोड ८० लाख रुपैयाँ मार्जिन कर्जा लगानी गरेका छन् । यो कर्जा रकम गत असारको तुलनामा २.९८ प्रतिशतले थोरै हो । गत असारमा फाइनान्स कम्पनीहरुले सेयर धितो कर्जा ३ अर्ब ९१ करोड ५० लाख रुपैयाँ मार्जिन कर्जा लगानी गरेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।