गुण एयरलाइन्सले पुराना ५ वटै जेटस्ट्रिम बेचेर नयाँ जहाजबाट सेवा दिने

0
Shares

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले चलाइरहेका ३० सिट क्षमतायुक्त ५ वटै जेटस्ट्रिम (जे ४१) जहाज बिक्री गर्न प्रक्रिया थालेको छ ।

गुण एयरलाइन्सका अनुसार दश दिनअघि नेपाल आएको जहाज खरिद गर्न चाहने पक्षसँग एक चरणको सम्झौता समेत भैसकेको छ । केही प्रतिनिधिहरु अहिले पनि नेपालमा अवलोकनको क्रममा रहेकाले गुण व्यवस्थापन र लगानीकर्ताबीच गम्भीर छलफल भइरहेको छ । प्रारम्भिक सम्झौता अनुसार एक साताभित्रै जहाज खरिद बिक्रीको प्रकृया टुङ्गाएर अन्तिम सम्झौता गर्ने तयारी छ ।

कम्पनीका एक अधिकारीका अनुसार जेटस्ट्रिम बेचेपछि कम्पनीले ३ वटा जहाज थप्ने तयारी गरेको छ । सन् २०२३ भित्रै एटिआर, बम्बार्डियर वा एम्ब्रेअर वा अन्य जहाज निर्माता कम्पनीका मध्यम आकारका ५० देखि ७० सिट क्षमायुक्त जहाज खरिद गर्ने कम्पनीको योजना छ । ती अधिकारीले भने, “सस्तो ब्याजदरमा ऋण पाएमा हामी नयाँ जहाज नै खरिद गर्ने योजनामा रहेका छौं । त्यो सम्भव नभएको खण्डमा केही समय उडान भएका जहाज भित्र्याएर सेवा दिनेगरी अगाडि बढ्न चाहेका छौं ।”

पुराना जहाज बिक्री गरेर कम्पनीले नयाँ जहाज खरिदको योजना बनाउँदै कम्पनीले गत बुधबारदेखि उडान नै बन्द गरिसकेको छ । कम्पनीले सबै जहाज बेच्न लागेको भएर उडान केही समयलाई रोकेको जनाएको छ । ती अधिकारीका अनुसार नयाँ जहाज नआउँदासम्म एयरलाइन्सले १८ सिट क्षमताका दुईथान बिचक्राफ्ट जहाजबाट नियमति उडान गर्ने तयारी छ ।

मुलुकको उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबारदेखि गुण एयरलाइन्सका विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । पाइलट तथा अन्य कर्मचारीलाई नियमित तलब उपलब्ध नगराएको जानकारी आएपछि गुणका सबै उडान रोक्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले नोटबजारलाई बताए ।

आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिँदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने भन्दै गुणका विमानको उडान रोक्न निर्देशन दिइएको उनको भनाइ छ । कम्पनीले कर्मचारीलाई तलब दिएर सबै समस्या समधान गरेर मात्रै उडान गर्न निर्देशन सहित पत्र पठाएको उनले बताए ।

कम्पनीले आफ्ना कर्मचारीलाई तलब दिएको, एजेन्सी र सरोकारवाला कम्पनीको भुक्तानी गरी र वित्तीय अवस्था सुधार गरेको प्रतिवेदन दिएपछि नियमित उडान गर्न पाउनेछ । प्राधिकरणले फेरि अडिट गर्ने र त्यसको प्रतिवेदनका आधारमा उडानका लागि अनुमति दिने वा नदिने भन्ने निर्णयमा पुग्न सकिने प्रवक्ता निरौलाले जानकारी दिए ।

गुणका सञ्चालकहरुले भने पाइलट तथा कर्मचारीहरुको सन् २०२२ डिसेम्बरसम्मको सबै भुक्तानी एयरलाइन्सले गरिसकेकाले पाइलट वा कर्मचारीलाई तबल नदिएर उडान रोकिएको भन्ने विषयलाई अस्विकार गरे । ती सञ्चालकका अनुसार जनवरीको तलव मात्रै भुक्तानी गर्न बाँकी रहेकाले त्यसकै कारण उडान बन्द नगरिएको उनको जिकिर छ । उनका अनुसार जेटस्ट्रिम जहाज बिक्री गर्न प्रक्रिया अगाडि बढाइएको र कम्पनीसँग रहेका बिचक्राफ्ट अहिले मर्मतको क्रममा रहेकाले उडान बन्द गर्नु परेको हो ।

कम्पनीले एक वर्ष अगाडि यती एयरलाइन्ससँग ३० सिट क्षमतायुक्त ५ वटा जेटस्ट्रिम र सिम्रिक एयरसँग १८ सिट क्षमताका २ वटा विचक्राफ्ट जहाज खरिद गरी सञ्चालनमा ल्याएको थियो । सबै गरी कम्पनीसँग जम्मा ७ वटा जहाज रहेका छन् । गुणले काठमाडौं पोखरा, भरतपुर, नेपालगन्ज, तुम्लिङटार र भैरहवा उडान तथा माउन्टेन फ्लाइट गर्दै आएको थियो । गुणमा हाल करिब एक दर्जन पाइलट कार्यरत छन् ।

गुण समूहका राजेन्द्र अध्यक्ष शाक्यले सन् २००९ मा गुण एयरलाइन्स स्थापना गरेको थिए । आर्थिक संकट गहिरिएपछि व्यवसायी शाक्यले सन् २०१३ मा गुण एयरलाइन्स क्याप्टेन रोमश्वर थापालाई बिक्री गरेका थिए । नयाँ व्यवस्थापनपछि गुण सिम्रिक एयरमा परिवर्तन भएको थियो । नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सलाई शाक्यले पुनः २०७८ भदौमा खरिद गरी असोज १ गतेदेखि उडान सुरु गरेका थिए ।

यो वायु सेवा सञ्चालकहरुमा राजेन्द्र शाक्यका साथै गुण कोलोनी, गुण इन्टरप्राइजेज, गुण स्मृति सेवा, दरबार मल, गुण सिनेमा, जीजी टावर, गुण कोअपरेटिभ, गुण ज्वेलर्स, हाइड्रो, होटल लगायत डेढ दर्जन हाराहारी कम्पनीका रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।