चितवनको भरतपुरमा उद्योग रहेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले पुँजी वृद्धि गर्ने भएको छ । सर्वसाधारण लगानीकर्तामा जारी पुँजीको २२.२३ प्रतिशत आईपीओ ल्याउन लागेको कम्पनीले सेयर जारी अघि पुँजी वृद्धि गर्न लागेको हो ।
कम्पनीले सेयरधनीहरूको नाममा कम्पनीमा अभिलेख कायम सेयरको अनुपातमा खरीद गर्न पाउने सेयर जारी प्रति सेयर १०० अंकित मूल्यका दरले ५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो ।
सेयर खरीद बापतको रकम ३५ दिनभित्र कम्पनीको प्रभु बैंकमा रहेको बैंक खातामा जम्मा गरी सोको सक्कल भौचर कम्पनीमा पेस गर्न सेयरधनीलाई आग्रह गरेको छ ।
कम्पनीले मंगलबार एक सूचना जारी गर्दै उक्त रकम तोकिएको अवधिभित्र सेयर खरीदबापत हुन आउने रकम जम्मा नगरेको खण्डमा वा सेयर बिक्री गर्ने हक अरुलाई बिक्री वा हस्तान्तरण नगरेमा कम्पनीको सञ्चालक समितिले निर्णय गरेबमोजिम उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न ओम मेगाश्री फर्मास्युटिकल्सले प्रभु क्यापिटल लिमिटेडसँग यसअघि नै आईपीओको बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । सो सम्झौतामा फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधि उत्पादनका लागि प्रक्रिया सुरु गरेकोमा कम्पनीले हाल ३१ प्रकारका विभिन्न औषधि उत्पादन गर्नका लागि अनुमति प्राप्त गरिसकेको छ । फर्मास्युटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा सेयर जारी गर्ने निर्णय गर्ने कम्पनी हो ।
गैरआवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध ओम मेगाश्री फर्मास्यूटिकल्सले इयु फर्मा टेक्निकल सपोर्टमा चितवनको भरतपुरमा उद्योग स्थापना गरी औषधि उत्पादन गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया