सस्तिँदै तरकारीको भाउ, ६ महिना अगाडिको तुलनामा ६० प्रतिशतसम्म घट्यो

0
Shares

पछिल्लो समयमा तरकारी तथा फलफूलको भाउ सस्तिँदै गएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार पछिल्लो ६ महिनामा तरकारीको भाउ ६० प्रतिशतसम्म घटेको छ ।

गत भदौको तुलनामा फागुनसम्म आइपुग्दा अधिकांस तरकारी तथा फलफुलको भाउमा गिरावट आएको छ । साउन भदौमा बर्षातका कारण बाढी तथा पहिरोले काठमाडौं आउने विभिन्न बाटो अवरुद्ध हुँदा तरकारी तथा फलफूलकोे मूल्य अकाशिएको थियो । अहिले ढुवानी सहज हँुदा तरकारी तथा फलफूलको मूल्यम गिरावट आएको कालिमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारको भदौदेखिको तथ्यांक हेर्दा भदौ पहिलो साता प्रतिकेजी ५० रुपैयाँमा बिक्रि भइरहेको ठूलो गोलभेडा अहिले ३८ रुपैयाँमा बिक्री भइरहेको छ । कात्तिकमा ९५ रुपैयाँसम्ममा बिक्री भएको थियो । कात्तिकको तुलनामा फागुनमा गोलभेडाको भाउ ६० प्रतिशतले गिरावट छ ।

यस्तै गत भदौको पहिलो साता ६१ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको सानो गोलभेडा अहिले १६ रुपैयाँमा बिक्री भइरहेको छ । गत मंसिरमा भने सानो गोलभेडाको भाउ प्रतिकेजी ४५ रुपैयाँसम्ममा पुगेको थियो ।

भदौ महिनाको पहिलो साता प्रतिकेजी ६१ रुपैयाँमा बिक्री भएको रातोआलु अहिले २७ रुपैयाँमा झरेको छ । यता मुडेको रातोआलु असोज महिनामा ८६ रुपैयासम्म पुगेको थियो । यस्तै भदौको पहिलो साता ३९ रुपैयाँमा कारोबार भइरहेको भारतीय सुकेको प्याज कात्तिकको दोस्रो साता ६० रुपैयाँमा पुगेको थियो । अहिले भने प्रतिकेजी ३४ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै लोकल बन्दा भदौको पहिलो साता ३५ रुपैयाँमा बिक्री भएको थियो भने असोज अन्तिममा ९५ रुपैयाँसम्म पुगेको थियो । अहिले भने १८ रुपैयाँमा बिक्री भइरहेको छ । तराइको बन्दा पनि सोही मूल्यमा बिक्री भइरहेको छ । यता घिउ सिमीको भाउ भने बढेको छ । भदौको पहिलो साता प्रतिकेजी ६५ रुपैयाँमा बिक्रीस् भइरहेको घिउ सिमी मंसिरमा ९६ रुपैयाँ पुगेर अहिले ७६ रुपैयाँमा कारोबार भइरहेको छ । सिमिको भाउ पछिल्लो चरणमाबढ्ने क्रममा रहेको समितिको तथ्यांकले देखाएको छ ।

भदौको पहिलो साता प्रतिकेजी १२५ रुपैयाँमा कारोबार भइरहेको गाजँर अहिले २७ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै भदौको पहिलो साता २७६ रुपैयाँमा बिक्री भइरहेको कन्य च्याउ असोजको दोस्रो साता २७५ पुगेको थियो भने अहिले १४२ रुपैयाँमा बिक्री भइरहेको छ । अहिले भने डल्ले च्याउे २७६ रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै भदौको पहिलो साता २ सय ८३ रुपैयाँमा बिक्री भएको ब्रो काउली असोज दोस्रो साता ३३३ रुपैयाँ पुगेको थियो । अहिले भने ३५ रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै भदौको पहिलो साता प्रतिकेजी ७५ रुपैयाँमा बिक्री भइरहेको हरियो खुर्सानी असोजको तेस्रो सातासम्म बढेर १९३ पुगेको थियो अहिले भने ८६ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै फलफुलहरुमा भदौको दोस्रो साता २६५ रुपैयाँमा बिक्री भएको झोले स्याउ माघको तेस्रो साता २७० मा बिक्री भएको थियो भने अहिले २०० रुपैयाँमा बिक्री भएको छ । फुजी स्याउ भने २७५ रुपैयाँमा कारोबार भइरहेको छ । भदौको पहिलो साता १९५ पुगेको मौसम भने अहिले १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मौसमी तरकारीको उत्पादन हुन थालेपछि तरकारीको मूल्य केही घट्ने क्रममा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

पहिलाको भन्दा अहिले आयात बढि हुने गरेकोले पनि तरकारीको भाउ घट्न थालेको उनी बताउँछन् । उनका अनुसार पहिल्लो २ महिनाको तुलनामा अहिले तरकारीको भाउ ६२ प्रतिशतसम्म घटेको छ ।

तरकारीको भाउ घट्ने वा बड्नेबारे भन्न नसकिने भन्दै उनले भने ‘अब तरकारीको मूल्य घट्छ नै चाहिँ भन्न सकिँदैन, तरकारी उत्पादन अनुसारको भर पर्छ ।’ थोकमै सस्तो भएपछि खुद्रामा पनि तरकारीको भाउ सस्तो हुने सूचना अधिकारी श्रेष्ठले बताए । भाउ आकाशिँदा बजारमा तरकारीको किनबेच नै कम भएको थियो।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।