वाणिज्य बैंकको मुद्दतीभन्दा धेरै ब्याज नागरिक बचतपत्रमा पाइने

0
Shares

वाणिज्य बैंकहरुले ग्राहकहरुलाई दिइरहेको भन्दा धेरै ब्याज नागरिक बचतपत्रमा पाइने भएको छ ।

मुलुकको आर्थिक सल्लाहकार तथा मुद्रा नियन्त्रक नेपाल राष्ट्र बैंकले फागुन १० गते बुधबारदेखि कतिपय वाणिज्य बैंकहरुले दिएकोभन्दा धेरै ब्याज दिनेगरी नागरिक बचतपत्र २०८४ ‘क’ को बिक्री खुला गर्न लागेको हो ।

फागुन महीनामा प्रकाशित ब्याजदर अनुसार स्ट्याण्डर्ड चार्टड, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी लगायतले थुप्रै बैंकले मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म मात्रै ब्याजदर दिँदै आएका छन् । यी बैंकहरुले रेमट्यिान्स बचतमा भने थप १ प्रतिशत ब्याज दिने गरेका छन् ।

बुधवारदेखि निष्कासनमा आउने ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ का लगानीकर्तालाई केन्द्रीय बैंकले नै वार्षिक ब्याजदर ११.५० प्रतिशत दिने भएको हो । हाल कतिपय वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा यो भन्दा थोरै ब्याज दिँदै आइरहेका छन् ।

फागुन ३० गतेसम्म बिक्री खुला रहने दुई अर्ब ५० करोड रुपैयाँ बराबरको बचतपत्रमा राष्ट्र बैंकले ६–६ महीनामा ब्याज भुक्तानी गर्नेछ । बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । बचतपत्रमा न्यूनतम १० हजारदेखि अधिकतम कुल निष्कासन रकमका लागि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र खरीदका लागि इच्छुक खरीदकर्ताले राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन् ।

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । बचतपत्रमा लगानी गर्दा ब्याजका अलवा चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकम जोखिममुक्त हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।