सात महिनामा नेपालीले डेढ करोडको पान खाएर थुके

0
Shares

नेपालीहरुले चालु आर्थिक वर्ष २०७९/८० को सात महिना अवधिमा नेपालीहरुले डेढ करोड बढी मूल्यको पान खाएर थुकेका छन् । यो औपचारिक रूपमा भन्सार तिरेर भएको आयात हो । औपचारिक आयातभन्दा ठूलो अनुपातमा पान भन्सार छलेर आयात हुने गरेको देखिन्छ ।

भन्सार विभाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघसम्ममा मात्रै १ करोड ४६ लाख ३३ हजार रुपैयाँ बराबरको ६८ हजार ५०९ किलो पानको पात भित्रिएको छ । गत आव २०७८।७९ को ७ महिनामा १ करोड ९४ लाख ५८ हजार मूल्यको ९८ हजार ५२ किलो पानको पात भित्रिएको थियो । अघिल्लो आवको ७ महिनाको तुलनामा मूल्यको हिसाबले पानको पातको आयात २४.८० प्रतिशतले घटेको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षभरिमा भने ३ करोड १४ लाख ८७ हजार रुपैयाँ बराबरको १ लाख ५३ हजार १०३ किलो पानको पात आयात भएको थियो ।

नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेशबाट पानको पत्ता आयात हुन्छ । एउटा पानको मूल्य न्यूनतम २५ देखि १५० रूपैयाँसम्म हुने गरेको पान व्यवसायीहरू बताउँछन् ।  पानको पात, कत्था र पान मसाला समेतको तथ्याङ्क जोड्ने हो भने योभन्दा कैयन गुणा बढी आयात हुने गरेको छ । नेपाल भारत खुला भन्सार नाका रहेका कारण पानसँग सम्बन्धीत वस्तुहरु भन्सार छलेर धेरै आयात हुने गरेको पान बिक्रेताहरू नै स्वीकार गर्छन् । पानको पात, कत्था, विभिन्न खालका पान मसाला, चुना र नरिवल, सुपारी समेतको हिसाब गर्ने हो भने वार्षिक २५ करोड रुपैयाँ बराबरको पान खाएर नेपालीले थुक्ने गरेको पान बिक्रेताहरु बताउँछन् ।

पानको पात आयातबाट मात्रै सरकारले ४५ लाख २४ हजार रुपैयाँ राजश्व पप्त गरेको छ । यस्तै चालु आवको ७ महिना अवधिमा १६ लाख २४ हजार रुपैयाँ बराबरको १ हजार १५० किलो बराबरको कत्था आयात भएको छ । कत्था आयातबाट ५ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सा विभागको तथ्याङ्क छ ।

विभिन्न खालका पान मसाला हालेर बनाइएको पान खाएर सडकदेखि जहाँसुकै रातो हुने गरि पिच्च पिच्च थुक्ने गर्दा जहाँसुकै रातो हुने भई सोन्दर्यमा समेत प्रभाव पर्दै आइरहेको छ । नेपालका तराई क्षेत्रमा अधिक प्रचलनमा रहने पान खाने संस्कार पछिल्लो समय काठमाडौं सहित केही पहाडी र केही हिमाली जिल्लामा समेत फैलिएको छ ।

सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, महोत्तरी सहितका विभिन्न जिल्लाका सडकदेखि सरकारी कार्यालयहरूको भित्तासम्म जहाँसुकै पान खाएर रातो हुने गरि पिच्च पिच्च थुक्ने क्रम बढेपछि कतिपय सरकारी कार्यालयहरू कार्यालयक भित्तामा नथुकुन् भनेर भित्तामा देवीदेवताका फोटो नै टाँस्ने गरिएको थियो । सिरहा, सप्तरी तथा धनुषादेखि बाँकेसम्मका अधिकांश जिल्लामा औसत वार्षिक ८० लाख वटा पात खपत हुने बताइन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।