सरकारले आगामी तीन आर्थिक वर्षभित्र ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार पारेको छ।
राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ स्वीकृत गर्दै विभिन्न आर्थिक सूचकको तीनवर्षे अनुमान सार्वजनिक गरेको हो ।
आयोगले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ७.४० प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान आयोगको छ । तर, चालू आव २०७९/८० का लागि सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य भने हासिल नहुने पनि आयोगले जनाएको छ । चालू आवमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकामा ४.५० प्रतिशत बराबर मात्रै रहने देखिएको हो ।
चालू आवमा सरकारले उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको थियो । तर यस वर्ष मुद्रास्फीतिले वाञ्छित सीमा नाघेर ७.५० प्रतिशतसम्म पुग्नसक्ने अनुमान आयोगको छ । त्यस्तै, आगामी आव २०८०/८१ मा ६.५ प्रतिशत र त्यसपछिका दुई आवमा ६ प्रतिशतको वाञ्छित सीमाभित्र मुद्रास्फीति राख्ने प्रक्षेपण आयोगले गरेको छ ।
आगामी तीन वर्षभित्र नेपालको प्रतिव्यक्ति आयमा उल्लेखनीय सुधार हुने अनुमान पनि आयोगको छ । आयोगको विवरणअनुसार प्रतिव्यक्ति आय आव २०८०।८१ मा १५७२ अमेरिकी डलर, आव २०८१/८२ मा १७४० अमेरिकी डलर र आव २०८२/८३ मा १९३५ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ ।
आगामी वर्षमा नेपालको भुक्तानी सन्तुलनमा घाटा बढ्दै जाने देखिएको छ । भुक्तानी सन्तुलन आगामी आव १० अर्ब र त्यसपछिका दुई आवमा क्रमशः २० अर्ब र २५ अर्ब रुपैयाँसम्म घाटामा रहने अनुमान आयोगको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया