अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रबन्ध निर्देशक क्रिष्टालिना जिर्योजीभाले जी–२० देशहरुलाई अन्तर्राष्ट्रिय वित्तीय संरचना बलियो बनाउन आग्रह गरेकी छिन् ।
भारतको बेङलुरुमा सम्पन्न भएको जी–२० राष्ट्रका अर्थमन्त्री तथा गर्भनरहरुको पहिलो चरणको बैठकका क्रममा उनले विश्वव्यापी वित्तीय सुरक्षाका विषयमा बोल्दै वित्तीय संरचना बलियो बनाउन अनुरोध गरेकी हुन् ।
सन् २०२३ मा विश्व अर्थतन्त्र संकट उन्मुख रहेसँगै कैयौं देशका लाखौं मानिसहरुलाई आधारभूत आवश्यकता पूरा गर्न नै धौधौ पर्ने अवस्था आउने छ । त्यसका लागि अन्तर्राष्ट्रिय समुदाय नै एक्यबद्ध भई समाधानका उपाय खोज्नुपर्ने र अन्तर्राष्ट्रिय वित्तीय संरचनालाई थप सुदृढ गर्नुपर्नेमा उनले जोड दिइन् ।
विश्वव्यापी वित्तीय सुरक्षा सञ्जाललाई सुदृढ गरी ऋण मिनाह गर्नुपर्ने विषयमा यथाशीघ्र काम गर्नुपर्ने उनले बताइन् । कोभिड–१९ का कारण शिथिल अर्थतन्त्र भएका देशहरुमा रुस–युक्रेन युद्धले थप समस्या निम्त्याएको र कतिपय देशहरु सबरेन ऋण चुक्ता गर्न नसक्ने अवस्थामा पुगेको तथ्यलाई केलाउँदै उनले नीतिगत सुधारमा ध्यान दिनुपर्ने बताएकी छिन् ।
निम्न आय भएका देशहरुको अवस्था जटिल रहेका कारण ऋणको संरचना सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने उनको धारणा रहेको छ ।
यस्तै विश्वव्यापी वित्तीय सुरक्षा वृद्धि गर्नका लागि आइएमएफले कोभिड संक्रमणको समयदेखि अहिलेसम्म ९४ देशहरुमा २७२ अर्ब वित्तपोषण गरेको र ती ९४ देशहरुमा ५७ देशहरु न्यून आय भएका देशहरु पर्दछन् ।
विभिन्न ट्रस्टहरुको निर्माण गरी आइएमएफले न्यून आय भएका राष्ट्रहरुमा काम गर्दै आएको छ ।
मलावी, गुनिया र हाइटी जस्ता देशहरुमा व्याप्त भोकमरीको समस्या समाधानका लागि आइएमएफले फूड सक् वीन्डो सञ्चालनमा ल्याएको छ । यस्तै जलवायु परिवर्तनबाट पिडित देशहरुको उत्थानमा रिजिलियन्स एन्ड सस्टेन ट्रस्टको निर्माण गरेको छ । जसअन्तर्गत बाङ्लादेश, कोस्टा रिका, र्बाबाडोस र रवान्डा रहेका छन् ।
सन् २०२३ को अन्त्यसम्ममा आइएमएफले आफ्ना सदस्य देशहरुलाई अन्तर्राष्ट्रिय वित्तीय संरचना सबलीकरण तथा सुदृढीकरणमा ध्यान दिन आग्रह गरेको छ । आगामी समयमा विश्व अर्थतन्त्र तथा आर्थिक चक्रमा स्थायीत्व कायम गर्नका निमित्त र उच्च जोखिममा रहेका देश र त्यहाँका जनताहरुको जीवनस्तर उकास्नका लागि यथाशीग्र कार्य अघि बढाउनुपर्ने आइएमएफले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया