पर्यटक आकर्षण गर्न भुटानद्वारा ‘ड्यूटी फ्री’ मा सुन व्यापार

0
Shares

भुटानले पर्यटक आकर्षणका लागि ‘ड्यूटी फ्री’ मा सुन व्यापार गर्ने भएको छ । कोभिड–१९ संक्रमणपछि सन् २०२२ को सेप्टेम्बरमा सीमा खुल्ला गरेको भुटानले पर्यटन प्रवद्र्धनका लागि भन्सार मूल्य बिना सुनको ब्यापर गर्ने नीति अपनाएको हो ।

भुटान घुम्न जाने पर्यटकहरुले प्रति दिन ६५–२०० डलर दिगो विकास शुल्कका रुपमा भुक्तानी गरी भुटानी पर्यटन विभागमा दर्ता भएका होटलमा कम्तिमा एक रात बसी थिम्पु र फुएन्टसोलिङबाट सुन खरिद गर्न सक्नेछन् ।

ड्युटी फ्री मूल्यमा १० ग्राम सुनको मूल्य ४० हजार २८६ भुटानी न्गुल्ट्रम रहेको छ । भुटानको यस नीतिबाट भारतीय पर्यटकहरु लाभान्वित हुनेछन् । हाल भारतमा १० ग्राम सुन ५७ हजार ४९० भारुमा खरिद बिक्री गर्न सकिन्छ । तर भुटानमा १० ग्राम सुनको मूल्य ४० हजार २८६ भुटानी न्गुल्ट्रम पर्छ र १ भारु बराबर १ भुटानी न्गुलट्रम विनिमय दर रहेको छ ।

मार्च १ गतेदेखि भुटानमा घुक्न जाने पर्यटकहरुले उल्लेखित नियम पालना गरी सुन खरिद गर्न सक्नेछन् । फेब्रुअरी २१ मा भुटानी राजाको जन्मदिन र भुटानी नयाँ वर्ष ल्होसारको पावन अवसरमा भुटानले उक्त नीति घोषणा गरेको थियो । यस नीतिको उद्दश्य नाफा आर्जन नभई पर्यटन प्रवद्र्धन रहेको भुटानी खबरपत्रिका कुनसेलले जनाएको छ ।

भुटानले मात्रै नभई कोभिडका कारण सुस्ताएको पर्यटन उद्योगको प्रवद्र्धनका लागि थाइल्यान्ड र दुबईले पनि विशेष छुट दिने किसिमका विभिन्न उपायहरु अपनाइरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।