सरोकारवालाहरुले बीमा कम्पनीहरुको शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानीको व्यवस्था गर्न माग गरेका छन् ।
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन १५ गते सोमबार मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो माग राखेका हुन् ।
कार्यक्रममा सहभागीहरुले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि बीमा कम्पनीहरु गाउँमा आउनुपर्ने, बिनाझन्झट दाबी भुक्तानी पाउनुपर्ने, बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु गाउँ गाउँमा आयोजना गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले घटना कतिबेला हुन्छ थाहा नहुने भएकाले सबैले जीवन तथा घर लगायत सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न आग्रह गरिन् । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले कार्यक्रममा बीमा सम्बन्धी प्रस्तुती गरेकी थिइन् ।
कार्यक्रम नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले सञ्चालन गरेका थिए । कार्यक्रममा खडक नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, कृषक, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता लगायत गरी करिब ७५ जनाको सहभागिता थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया