क्यानडाले टिकटक चलाउन प्रतिबन्ध लगाउने

0
Shares

क्यानडेली सरकारले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ । क्यानडाले सरकारले जारी गरेका मोबाइल फोनहरमा टिकटक चलाउन प्रतिबन्ध लगाउने भएको हाे ।  टिकटकको प्रयोगले साइबर सुरक्षा र गोपनीयतामा जोखिम उत्पन्न भएको क्यानडाका सूचना प्रमुखले जनाएका छन् ।

यो नीति आउँदो मार्च १ देखि लागू हुने बताइएको छ । क्यानेडेली सरकारले सरकारबाट जारी भएका सम्पूर्ण मोबाइल डिभाइसमा टिकटक स्वतः रुपमा हटाउने निर्णय गरेको हो ।

सरकारले टिकटकमा डेटा सुरक्षित नभएको र साइबर आक्रमणको सम्भावना रहेको कारण देखाउँदै सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको हो । क्यानडाले टिकटक प्रतिबन्ध लगाउनु अघि युरोपियन युनियनले पनि टिकटकलाई साइबर सुरक्षा र गोपनीयता जोखिममा आएको कारण देखाउँदै प्रतिबन्ध लगाएको थियो । क्यानडाले लिएको उक्त निर्णयले आफूहरु निराशा भएको टिकटकका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।

 यो भन्दा अगाडि अमेरिका र युरोपेली संघले पनि सोही कारण देखाउँदै चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसभन्दा अगाडि अमेरिकाले हालै मात्र सरकारी कामकाजका लागि प्रयोग हुने सबै डिभाइसहरुमा टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको थियो । यसको केही समय पनि नबित्दै क्यानडाले पनि यस्तो निर्णय गरेको हो ।

टिकटकले आफूहरूले प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने प्रतिबद्धता जनाउँदै आएपनि पश्चिमेली देशहरूले यो छोटो भिडिओको प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सुरु गरेको हुन् । टिकटकको अभिभावक कम्पनी बाइटडान्सले आफूले चाहेको बेला प्रयोगकर्ताहरूको डेटा प्रयोग गर्न सक्ने नीति बनाएको अमेरिकी र युरोपेली राष्ट्रहरूको अनुमान छ । यो देशको लागि खतरा हुनसक्ने उनीहरूले धारणा व्यक्त गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।