जलविद्युत आयोजना निर्माणका लागि व्यवसायीले सरकारसँग मागे सुरक्षा

0
Shares

स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इपान) ले जलविद्युत आयोजना निर्माणको लागि सरकारसँग सुरक्षाको माग गरेको छ । परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभुति गराउन संस्थाले माग गरेको छ ।

जलविद्युत आयोजनामा स्थानीयको समूहले नै उश्रृंखल, अराजक तथा अपराधिक घटना भएको भन्दै उक्त घटनाको इप्पानले भत्र्सना गरेको छ ।
सिन्धुपाल्चोकको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीय एक समूहले फागुन १५ गते गरेको तोडफोड तथा आगजनी गरेको थियो । कर्मचारीमाथिको सांघातिक आक्रमणपछि इपानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुरक्षाको माग गरेको हो ।

इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षती भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरे ।

उनले पछिल्लो समय जलविद्युत आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । ‘जलविद्युत जस्ता आयोजनामा स्थानीय अध्यक्ष सहितको संग्लनतामा यस्ता अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उर्जा क्षेत्रमा नकारात्मक सन्देश गएको छ,’ उनले भने ।

यस्ता घटनाले सिन्धुपाल्चोक लगायत जलविद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भिररुपमा ध्यान जान आवश्यक रहेको इपानको धारणा छ । सरकारले परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभुति गराउन सीता जलविद्युत आयोजनामा भएको घटनाको छानबिन गरी दोषी उपर कानून अनुसार कारबाही गर्न माग गरेको छ ।

त्यस्तै सीता जलविद्युत आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गरे । उनले फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानी एक बालिकाको निधन भए पश्चात ६० जनाको एक समूहले योजनावद्ध रुपमा आयोजना स्थलमा तोडफोड, आगजनी र कर्मचारीमाथि आक्रमण गरेको बताए ।

‘विद्युत प्राधिकरणको लाइनसँग आयोजनाको कुनै सम्बन्ध छैन, एक समूहको आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत गृह, सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति र ७ जना इन्जिनियरहरु घाइते भएका छन्, आक्रमणबाट करिब १२ करोड बराबरको क्षती भएको छ,’ उनले भने ।
उनले नेकपा एमालेका कार्यकर्ताहरुले केही समय अघि काम दिन माग गर्दै पत्र पठाएको बताए । उनले अब राज्यले सुरक्षा दिन नसक्ने भएर निजी क्षेत्रले कुनै पनि क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।