बुढानिलकन्ठ हेरिटेजले २ खर्ब ३७ करोड ५० लाख लगानीमा बूढानीलकण्ठमा पाँच तारे होटल निर्माण गरिरहेको छ । सन् २०२३ को अप्रिल महिनाबाट सञ्चालनमा आउने गरी कम्पनीले १०२ कोठाको नौ तालाको पाँच तारे होटल निर्माण गरेको हो ।
सन् २०१९ को अप्रिल महिनाबाट निर्माण सुरु भएको उक्त होटलले सन् २०२२ को जनवरी महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तथापि कोभिड–१९ संक्रमणका कारण निर्माण कार्यले निरन्तरता नपाउँदा सन् २०२२को अक्टोबर महिनासम्ममा ५१ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ ।
बूढानीलकण्ठ हेरिटेज एक स्पेशल प्रपोज भेइकल हो जसले हाल बूढानीलकण्ठमा पाँच तारे होटल निर्माण गरिरहेको छ । कम्पनीले १ अर्ब ५४ करोड ५० लाख कर्जा र ८३ करोड बराबरको सेयर इक्युटीमा पाँच तारे होटल निर्माण गरिरहेको हो । निर्माण सम्पन्नका लागि तोकिएको समयमा निर्माण सम्पन्न नहुने जोखिम बढेपछि होटल निर्माणको परियोजना नै विफल हुने सम्भावना समेत बढेको छ ।
होटलका प्रमोटर च्याटर अकाउन्टेन्ट, डाक्टर र केही व्यवसायीहरु रहेका छन् ।
यस अघि ९० करोड कर्जाका लागि बुढानिलकन्ठ हेरिटेजले रेटिङ गराएको थियो । सो समयमा रेटिङ एजेन्सी इक्रा नेपालले बी प्लस रेटिङ दिएको थियो । अहिले कम्पनीले १ अर्ब ५४ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले यस अघि दिएको रेटिङ बी प्लसलाई घटुवा गरी बी रेटिङ गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया