प्रधानमन्त्री ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा आज २ वटा मुद्दा दर्ता भएको छ । दाहालले ३ वर्षअघि दिएको अभिव्यक्ति समेतलाई लिएर सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको हो ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले मंगलबार रिट दर्ता गरेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको द्वन्द्वकालीन मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ । ज्ञानेन्द्रराज आरणसहितले मंगलबार दर्ता गरेको रिट निवेदनमाथि बिहीबार पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुन भनिएको छ ।

शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो । गत कात्तिक १४ मा यही माग लिएर उनी सर्वोच्च गएपनि सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ (दर्ता नगर्ने निर्णय ) गरेपछि त्यसविरूद्ध निवेदन दिएका थिए । सोही निवेदनमा उक्त इजलासले सुनुवाई गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो ।

हाल प्रधानमन्त्री रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७६ को माघी पर्वको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा द्धन्द्धकालमा मारिएको भनिएको १६ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए । उनले आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको र त्यो तथ्यांक गलत भएको भन्दै प्रचण्डले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए ।

आरणको रिटमा द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति तथा बुढोथोकीको रिटमा अंगभंग, सम्पत्ति कब्जा र लुटपाटलाई मुद्दा बनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।