चालु आर्थिक वर्षको सात महिनाको अर्थात साउनदेखि माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । माघ महिनामा मात्रै एक खर्ब ४ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु.७५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया