सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर आइतबार बिहान ११ बजेसम्म ६ लाख ६१ हजार जनाले भरेका छन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको सेयर खरिदका लागि ६ लाख ६१ हजार वटा संख्याको आवेदन मार्फत ७९ लाख २३ हजार १०० कित्ताको माग भएको हो । जुन सर्वसाधारणबाट माग सेयर संख्याको ६.३४ गुणा हो ।
कम्पनीले फागुन २६ गते शुक्रबारदेखि ३० गते मंगलबारसम्म सर्वसाधारणको लागि ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको सेयरमा मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत समेत आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने अवस्था रहेकाले १० कित्ताका लागि एक हजार रुपैयाँको आवेदन नै प्रयाप्त हुनेछ ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित मध्य तमोर जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याज सहित १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँका दरले १३ अर्ब ३३ करोड अनुमान गरिएको छ । ७३ मेगावाट क्षमताको उक्त आयोजनामा गरिएको सेयर पूँजीमा लगानी फिर्ता हुने अवधि (पे ब्याक पिरियड) सम्बन्धी अवधिमा साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ । यस्तै खुद नगद प्रवाह २० लाख १८ हजार ४०० रुपैयाँ र आन्तरिक प्रतिफल दर (आएआरआर) १३.७८ प्रतिशत तथा बट्टादर ११ प्रतिशत रहेको छ ।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाखको २५ प्रतिशत अर्थात ८३ करोड ३१ लाख २५ हजार रकम बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मुल्यको ८३ लाख ३१ हजार २५० कित्ता साधारण सेयर जारी गरेको हो । यस अनुसार कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई छुट्टाइएको जारी पूँजीको १० प्रतिशत अर्थात ३३ लाख ३२ हजार ५०० कित्ता सेयर बाँडफाँड गरेको छ ।
यस्तै ४९ लाख ९८ हजार ७५० कित्ता सेयर मध्ये ५ अर्थात २ लाख ४९ हजार ९३७ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई तथा १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकहरुलाई बाँडफाँड गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया