वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल पठाउने विप्रेषण (रेमिट्यान्स) मा निरन्तर आएको वृद्धि र आयात नियन्त्रणले मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) को बचत पनि बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधि (२०७८/७९ को सात महिना) मा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोड डलरले बचतमा पुगेको छ ।
शोधनान्तर घाटा चुलिँदै जान थालेपछि अर्थतन्त्र बाह्य क्षेत्रको दबाब र तरलता दबाबलाई कम गर्न भन्दै सरकारबाट चालिएका कसिलो नीति क्रमशः खुकुलो बनाउँदै जाँदा पनि बाह्य क्षेत्रमा सुधार भएको तथ्यांकहरु केन्द्रीय बैंकले सार्वजनिक गरेको हो ।
माघ महिनामा मात्रै एक खर्ब ४ अर्ब रेमिट्यान्स नेपाल भित्रिएपछि माघसम्म कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४.४० प्रतिशतले घटेको विप्रेषण आप्रवाह समीक्षा अवधिमा २७.१ प्रतिशतले वृद्धि भएको छ ।
विसं २०७९ बैशाखदेखि सरकारले आयातमा लगाएको प्रतिबन्ध साढे सात महिनापछि पुसदेखि लागू हुने गरी फुकुवा गरेको थियो । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा आपूर्ति प्रणाली खलबलिएर महँगी बढेसँगै शोधनान्तर स्थितिमा चाप पर्दै गएको थियो । रेमिट्यान्समा आएको गिरावट र आयात वृद्धिले विदेशी मुद्राको सञ्चिति घट्दै गयो । त्यसलाई रोकथाम गर्न सरकारले गत १३ वैशाखदेखि पहिलोपटक १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो । भदौ १५ देखि आयात खुकुलो बनाउँदै सरकारले चार प्रकारका वस्तुमा मात्रै प्रतिबन्ध लगाएको थियो । त्यसमा मदिरा, स्मार्ट फोन र १५० सिसीमाथिका मोटरसाइकल र निजी प्रयोजनका सवारी साधन थिए ।
चालु खाता भने समीक्षा अवधिमा २९ अर्ब ६४ करोडले घाटामा नै रहेको छ । यद्यपी यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ खर्ब ८१ अर्ब ७० करोडको सुधार हो । २०७८ माघ मसान्तसम्ममा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा हेर्दा २०७८ माघमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाख डलरले मात्र घाटामा रहेको छ ।
खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्बले घट्यो
समीक्षा अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब २५ करोड रुपैयाँले घटेको प्रतिवेदन केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ माघ मसान्तसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडमा समेटिएको छ । २०७८ माघमा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रहेको थियो ।
यस्तै पुँजीगत ट्रान्सफरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.२० प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३१ करोड रहेकोमा घटेर ५ अर्ब ३५ करोड कायम भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया