राष्ट्र बैंकका अनुसार माघसम्ममा आइपुग्दा विदेशी मुद्रा सञ्चिति सामान्य बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा १३.८ प्रतिशतले बढेर माघ मसान्तमा १३ खर्ब ८३ अर्ब पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ५० करोड छ। असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनाको अवधि अर्थात माघसम्ममा मुलुकको शोधनान्तर बचत बचत १३३ अर्ब पुगेको छ । माघ महिनामा मात्र शोधनान्तर बचत ३६ अर्ब ११ करोड रुपैयाँले वृद्धि भएको हो ।
राष्ट्र बैंकका अनुसार गत आवको माघमा २४७ अर्ब ३ करोडले घाटामा रहेको शोधनान्तर स्थिति १३३ अर्ब २१ करोड रुपैयाँले बचतमा पुगेको हो । पुसको तुलनामा शोधनान्तर बचत ३६ अर्ब ११ करोड रुपैयाँले वृद्धि भएको हो । पुसमा ९७ अर्ब १० करोड रुपैयाँ बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा छ।
शोधनान्तर स्थितिमा मात्रै नभई चालु आर्थिक वर्षमा चालु खाता घाटमा पनि उल्लेख्य सुधार भएको छ । चालु वर्षको सात महिनामा सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा थियो ।
व्यापार घाटामा १८.७ प्रतिशतले घटेको र रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि हुँदा त्यसको प्रभाव शोधनान्तर स्थित र चालु खातामा देखिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया