फ्रान्सेली सिनेटद्वारा पेन्सन सुधार विधेयक पारित

0
Shares

राष्ट्रव्यापी विरोधका बाबजुद फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो ।

जनतामाझ अलोकप्रिय उक्त विधेयकको पक्षमा एक सय ९५ मत परेको थियो । विधेयकको विपक्षमा एक सय १२ जनाले मतदान गरेका थिए । अब उक्त विधेयकको मस्यौदालाई सदनको एउटा समितिले अन्तिम रूप दिएर अनुमोदनका निम्ति सिनेट र राष्ट्रियसभामा प्रस्तुत गर्नेछ । संभवतः आगामी बिहीबार उक्त विधेयक सिनेट र राष्ट्रियसभामा प्रस्तुत हुनेछ ।

प्रस्तुत विधेयक पारित भएमा न्यूनतम सेवानिवृत्तिको उमेर ६४ वर्ष हुनेछ । यसअघि ६२ वर्षमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था थियो । युवावस्थामा सेवा प्रवेश गरेका फ्रान्सेली नागरिकले उक्त विधेयकलाई अनुचित भनेका छन् ।

सरकारीस्तरमा राष्ट्रपति इम्यानुएल म्याक्रोँको दोस्रो पाँचवर्षे कार्यकालको महत्वपूर्ण उपलव्धि ठानिएको उक्त विधेयकको धेरैले विरोध गरेका छन् । विधेयक पारित गर्न सरकारसँग संसदीय बहुमत भएकाले त्यसले कानुनी हैसियत पाउने विश्वास प्रधानमन्त्री एलिजाबेथ बोर्नले बताए । “सयौँ घण्टाको छलफलपछि सिनेटले पेन्सन सुधार योजनालाई स्वीकृत गरेको छ, यो हाम्रो पेन्सन प्रणालीको भविष्य सुनिश्चित गर्ने एक निर्णायक कदम हो,” उनले भने।

विधेयक पारित गर्न सदनमा आवश्यक बहुमत प्राप्त नभएमा संवैधानिक व्यवस्थाअनुसार मतदान बिना नै कानुन बनाउने धारा ४९(३) प्रयोग हुनसक्नेछ । यद्यपि विवादास्पद उक्त धाराको प्रयोग विरलै हुने गरेको छ ।

शनिबार विधेयकको विरोध गर्दै देशभर विरोधप्रदर्शन भएका थिए । करिब तीन लाख ६८ हजार मानिस विरोधप्रदर्शनमा उत्रिएका थिए । देशभरका रेलसेवा विधेयकका विरोधमा ठप्प भए पनि राजधानी पेरिसको सार्वजनिक यातायात निर्धारित समयमा नै सञ्चालन भएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।