पृथ्वीबहादुर सहित ६ जना ठगी प्रकरणमा कारागार चलान

0
Shares

अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रम सहित पक्राउ परेका ७ मध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले दिएको जानकारी अनुसार उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको सोमबारको आदेशले कारागार पठाइएको हो ।

सीआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा छाडिएको जानकारी दिए। सीआइवीले नै उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । सीआइवीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो ।

उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पु¥याएर ठगी गरेका पाइएको छ । अभियुक्तहरुले कृषि ट्राभल, म्यानपावर लगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झन्डै ६४ करोडभन्दा बढी ठगी गरेको आरोप छ । ठगिनेमा धेरै अमेरिकी नागरिक छन् ।

उनीहरुले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धाहरुलाई लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए । अभियुक्तहरुले पीडितको बैंक खातामा पहुँच पुर्‍याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए । ठगीका २० आरोपीमध्ये १३ फरार छन् । उनीहरुका बारेमा खासै जानकारी नभए पनि खोजी भने जारी रहेको प्रहरी उपरीक्षक थापाले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।