चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।
मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए।
“बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौँ”, श्रेष्ठले भने ।
बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार सङ्घ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए ।
आन्दोलनको तेस्रो दिनमा प्रधानमन्त्रीसँगको भेटले उद्योगी व्यवसायी अपेक्षित भएको बैंक वित्तीय समस्या संघर्ष समितिको संयोजक एवं मोरङ व्यापार संघका अध्यक्ष नबीन रिजालले बताए । छलफलका क्रममा के कसरी व्याजदरका सम्बन्धमा सम्बोधन गर्न सकिन्छ भन्ने ब्रिफिङ चित्त बुझ्दो भएका कारण आफुहरुले तत्कालका लागि आन्दोलन स्थगित गर्ने निर्णय भएको उनले बताए ।
प्रधानमन्त्रीसँग उद्योगी व्यवसायीका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघर्ष समितिको संयोजक रिजाल तथा दिलसुन्दर श्रेष्ठ, प्रकाश मुन्दडा र पिताम्बर जोशीको टोलीले छलफल गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया