जापानको मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च, महंगीको सामना गर्न कर्मचारीको तलब वृद्धि

0
Shares

जापानको मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

बढ्दो मूल्यवृद्धि, कमजोर बन्दै गएको येनका कारण जापानी नागरिकको जीवन यापनमा समस्या आएपछि प्रधानमन्त्री फुमियो किसिदाले कम्पनीहरुलाई कर्मचारीको तलब बढाउन आदेश दिएका थिए । सोही अनुरुप जापानका केही ठूला कम्पनीहरुले कर्मचारीको तलब बढाएका छन् ।

जापान इकोनोमिक रिसर्च सेन्टरले गरेको सर्वेक्षण अनुसार जापानी कम्पनीहरुले २.८५ प्रतिशतले तलब बढाउने आकलन रहेको छ । तथापि जापानी कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुको युनियन–रेन्गो अम्ब्रेला लेबर ग्रुपले कम्पनीहरुले ५ प्रतिशतका दरले तलब बढाउनु पर्ने माग गरेको छ ।

जापानको पछिल्लो उपभोक्ता मुद्रास्फीति दर ४.१ प्रतिशत रहेको छ । जुन ४० वर्ष यताकै उच्च हो । बढ्दो मुद्रास्फीति दरको सामना गर्न कम्पनीहरुले ३ प्रतिशतले तलब बढाउनु पर्ने जापान रिसर्च संस्थानका वरिष्ठ अर्थशास्त्री हिसासी यामदाले जनाएका छन् ।

यद्यपि जापानको औद्योगिक घराना हिटाची लिमिटेडले कर्मचारीहरुको तलब ३.९ प्रतिशतले बढाएको छ । यस अघि सन् २०२२ मा पनि कम्पनीले २.६ प्रतिशतका दरले कर्मचारीहरुको मासिक ज्याला वृद्धि गरेको थियो । यस्तै टोयोटा, होन्डा लगायतका कम्पनीहरुले पनि कर्मचारीको तलब वृद्धि गर्ने जनाएका छन् ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओइसीडि)को तथ्यांक अनुसार पछिल्लो ३० वर्षमा जापानमा कर्मचारीहरुको तलब ५ प्रतिशतले बढेको छ भने सोही अन्तरालमा अन्य देशहरुका कर्मचारीको तलब ३५ प्रतिशतले बढेको छ ।

जापानमा विगत १५ वर्षदेखि मुद्रास्फीति दर नकरात्मक रहँदै आएको थियो । तर कोभिड–१९ ले सिर्जना गरेको विषम् आर्थिक परिस्थिति समाधान हुनु अगावै रुसले युक्रेनमा आक्रमण गरेपछि जापानमा पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य आकाशिएको छ । जसकारण जापानको मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च पुगेको छ भने मानिसहरुलाई महंगीको सामना गर्न सास्ती पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।