लुब्रीकेन्ट उत्पादक कम्पनी–फुजिमा आयल कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२ मा २९.६ प्रतिशतले बढेको छ ।
सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी ५९ करोड १० लाख पुगेको हो । यस अघि सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी ४५ करोड ६० लाख रहेको थियो । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै अन्य वित्तीय सूचांकमा समेत सुधार देखिएको हो ।
ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर अघिको कम्पनीको आम्दानी कुल सञ्चालन आम्दानीको ९.५ प्रतिशत रहेको छ । यसअघि सन् २०२१ मा सो नाफा ८.३ प्रतिशत रहेको थियो । यस्तै कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.०८ गुणा रहेको छ ।
सन् १९९९ मा स्थापना भएको फुजिमा आयल कम्पनीले अटोमोबाइल लुब्रिकेन्ट उत्पादन र वितरण गर्दै आएको छ । कम्पनीले ‘कन्ट्रोल’, ‘म्याजिक प्लस’ र ‘रोयल’ ब्रान्डनामबाट लुब्रिकेन्ट बिक्री गर्दै आएको छ । कम्पनीको कार्यालय मोरङ जिल्लाको कठहरीमा रहेको छ ।
फुजिमा आयल कम्पनी चार व्यवसायीको लगानीमा सञ्चालनमा आएको छ । कम्पनीमा माधव प्रसाद कोइरालाको लगानी ३५ प्रतिशत रहेको छ । यस्तै कम्पनीमा प्रनब धमलाको ३० प्रतिशत, बिना श्रेष्ठको ३० प्रतिशत र इश्वर प्रसाद कोइरालाको लगानी ५ प्रतिशत रहेको छ ।
कम्पनीले ५२ करोड ७० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रानेपालले ४ करोड २० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी रेटिङ गरेको छ भने ४८ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।
कम्पनीको आम्दानीमा देखिएको निरन्तर वृद्धि र वित्तिय छवि स्वस्थ रहेका कारण इक्रानेपालले उक्त रेटिङ गरेको जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया