विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको मर्जरले पायो सैद्धान्तिक सहमति

0
Shares

नेपाल राष्ट्र बैंकले विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले चैत २ गते ती दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ७० को बैंकब तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम एक आपसमा गाभ्ने गाभिनका लागि सैद्धान्तिक सहमति दिएको जनाएको छ ।

नवलवरासीको गैंडाकोटमा राष्ट्रिय स्तरको विजय लघुवित्त वित्तीय संस्था र काभ्रेको धुलिखेलमा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच गत मंसिर २६ गते मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुई संस्थाबीच १ः१ को सेयर अदानप्रदान अनुपात (स्वाप) रेसियोमा मर्जरमा जाने सहमति छ ।

मर्जरपछि बन्ने संस्थामा सञ्चालक समिति अधयक्ष नयाँ सारथी लघुवित्तबाट र प्रमुख कार्यकारी अधिकृतमा हालको विजय लघुवित्तका बसन्त लम्साल हुने सहमति छ ।

हाल नयाँ सारथी लघुवित्तको चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार रुपैयाँ छ भने विजय लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा विजय लघुवित्तले २ करोड १२ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यता, सोही अवधिमा नयाँ सारथीले भने २ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।