एनएमबि लघुवित्त र नयाँ सारथी लघुवित्तले डाके साधारण सभा

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेका छन् ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० वैशाख १५ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा सिटी स्क्वायर प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे सभा सुरु हुनेछ ।

सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यस्तै सभाले यस संस्थाले अन्य वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि एनएमबि लघुवित्तले चैत १७ गते शुक्रबारदेखि साधारण सभा मितिसम्म बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोजका आधारमा चैत १६ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

उता नयाँ सारथी लघुवित्तले होटल जुगल मिरावल चोक धुलिखेल काभ्रेपलाञ्चोकमा चैत २८ गते दिउँसो १ बजे चौधौं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

त्यस्तै सभाले थप सार्वजनिक निष्कासन र बोनस सेयर वितरणपश्चात् कम्पनीको पूँजी वृद्धि हुने भएकाले पूँजी वृद्धिलगायत विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ ।

साथै सभाले विजय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुनुपूर्व गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात् विजय लघुवित्तको नामबाट कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायत प्रस्तावहरू पारित गर्नेछ ।

नयाँ सारथी लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले चैत १५ गते बुधबारदेखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।