सानिमा मिडिल तमोर हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा चैत ८ गते बुधबार बिहान आईपीओ बाँडफाँड बाँडफाँड भएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ४ लाख २४ हजार ८९३ जनाले आईपीओ हात पारेका छन् । जसमा भाग्यशाली ८ जनाले ११ कित्ताका दरले र ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म आम सर्वसाधारणमा ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ५६ हजार ३४१ जनाले १ करोड ५० लाख ८८ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीको जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमा ल्याइएको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सामूहिक लगानी कोषहरूको लागि बाँडफाँड गरिएको छ ।
७ हजार ९९९ आवेदन रद्द
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा आवेदन गरेका कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकमध्ये ७ हजार ९९९ जनाको आवेदन रद्द भएको हो ।
कुल १ करोड ५० लाख ८८ हजार ८८० कित्ताको लागि परेको आवेदनमा १लाख १६ हजार ८६० कित्ता सेयरको माग रद्द भएको छ । कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३४२ जनाबाट माग भएको १ करोड ४९ लाख ७२ हजार २० कित्ता कित्ता सदर भएको हो ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माणका लागि पुँजी जुटाउनका लागि आईपीओ जारी गरेको हो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुग्नेछ । आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ । ७३ मेगावाट क्षमताको उक्त आयोजना आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनामा गरिएको सेयर पूँजीमा लगानी फिर्ता हुने अवधि (पे ब्याक पिरियड) सम्बन्धी अवधिमा साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ । यस्तै खुद नगद प्रवाह २० लाख १८ हजार ४०० रुपैयाँ र आन्तरिक प्रतिफल दर (आएआरआर) १३.७८ प्रतिशत तथा बट्टादर ११ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया