चालु आर्थिक वर्ष २०७९/८० को साढे आठ महिनामा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ४६.२९ प्रतिशत बराबर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०७९ चैत १५ गते बुधबारसम्म ८ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ बराबर बजेट खर्च भएको हो ।
चालु आवका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । अहिलेको खर्चको अवस्था हेर्दा सरकारको लक्ष्य पूरा नहुने देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म चालुतर्फ ६ खर्ब ४७ अर्ब ८२ करोड अर्थात ५४.७५ प्रतिशत, पुँजीगततर्फ ९४ अर्ब ४७ करोड अर्थात २४.८४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ३८.२१ प्रतिशत बराबर मात्रै खर्च भएको छ ।
तर, अझै चालु शीर्षकको ५ खर्ब ३५ अर्ब ४० करोड, पुँजीगत शीर्षकको २ खर्ब ८५ अर्ब ९० करोड र वित्तीय व्यवस्थातर्फको १ खर्ब ४२ अर्ब २४ करोड रुपैयाँ बराबर खर्च हुन सकेको छैन । सरकारले बजेटको लक्ष्य हासिल गर्न आगामी साढे तीन महिनामा उक्त परिमाणको बजेट खर्च गर्नुपर्नेछ ।
चालु आवको साढे आठ महिनाको अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४३.४६ प्रतिशत अर्थात ६ खर्ब ९ अर्ब ७६ करोड रुपैयाँ बराबर देखिएको छ । चालु आवका लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
साढे आठ महिनामा सरकारले राजश्व, अनुदान तथा अन्य क्षेत्रबाट ६ खर्ब ५९ अर्ब १२ करोड प्राप्ति गरेको छ । जुन सरकारले यस अवधिमा गरेको खर्च भन्दा १ खर्ब ८० अर्ब १५ करोड कम हो ।
सरकारले साढे आठ महिनाको अवधिमा ६ खर्ब ५९ अर्ब १२ करोड आम्दानी गरेर ८ खर्ब ३० अर्ब २७ करोड खर्च गरेको छ । साढे आठ महिनामा सरकारको बजेट घाटा झण्डै एक खर्ब ८० अर्ब नाघेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार साढे आठ महिनामा ६ खर्ब ९ अर्ब ७६ करोड राजश्व संकलन भएको छ । संकलित राजस्वमध्ये कर राजस्वतर्फ ५ खर्ब ५१ अर्ब ६ करोड, गैरकर राजस्वतर्फ ५८ अर्ब ७० करोड र वैदेशिक अनुदानतर्फ ४ अर्ब ८० करोड रुपैयाँ बराबर संकलन भएको छ । यही अवधिमा अन्य प्राप्ति शीर्षकको राजस्व ३५ अर्ब ५५ करोड रुपैयाँ बराबर छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया