नेपाली भान्सामा थपिँदै ‘माया’ ब्रान्डको तेल, डेढ अर्ब कर्जा लिँदै

0
Shares

सनसाइन फुड्स प्रोडक्ट कम्पनीले ‘माया’ ब्रान्डको खाने तेल नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले उद्योग स्थापना गरि सन् २०२३ को मार्चदेखि उत्पादन थालेसँगै बजारमा उपलब्ध तेलहरुको विल्कपमा माया ब्राण्ड आएको हो ।

सन् २०२० मा स्थापना भएको सनसाइन फुड्स प्रोडक्ट कम्पनीको फ्याक्ट्री लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित रहेको छ । उद्योग स्थापना भएयता कम्पनीले सन् २०२३ को फेब्रुअरी महिनादेखि आंशिक रुपमा उत्पादन सुरु गरेको थियो । मार्च महिनादेखि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

कम्पनीमा मोहन बानियाँको ५५ प्रतिशत, शुभम बानियाँको १६ प्रतिशत, मुन्नीदेबी बानियाँ र अनमोल बानियाँको क्रमशः १४/१४ प्रतिशत लगानी रहेको छ । कम्पनीले तोरी, सोयाबिन, सनफलावर, पाल्मोलीन तेल उत्पादन गर्ने छ ।

कम्पनीले व्यवसाय विस्तारका लागि १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले २१ करोड ९० लाख बराबरको दीर्घकालीन कर्जाका लागि ‘बी प्लस’ रेटिङ दिएको छ । यस्तै १ अर्ब ४३ करोड १० लाख बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ‘ए–४’ रेटिङ दिएको छ ।

नेपाली भान्सामा तेल एक अत्यावश्यक खाद्य सामाग्री हो । नेपालमा खाद्य तेलको माग स्थीर रहेको छ । जसकारण आगामी समयमा कम्पनीको आम्दानी राम्रो हुने अनुमान गर्न सकिन्छ । यस्तै तेल प्रशोधन गर्ने प्लान्टको क्षमता पनि उच्च रहेको छ । पूर्ण क्षमतामा उत्पादन गर्न सकेमा कम्पनीको आम्दानीको ग्राफ छोटो समयमा नै उकालो लाग्छ ।

प्लान्टले प्रतिदिन १०० टन बराबरको पाल्मोलीन र सोयाबीनको तेल प्रशोधन गर्न सक्छ । यस्तै प्लान्टले पूर्ण क्षमतामा प्रशोधन गर्दा प्रतिदिन ५० टन सनफलावर तेल र २५ टन तोरीको तेल प्रशोधन गर्न सक्छ ।

तथापी बजारमा तेल उत्पादक कम्पनीहरुको सङ्ख्या बाक्लो रहेको छ । ती कम्पनीहरुसँग कम्पनीले प्रतिस्पर्धा गर्नुपर्नेछ । कम्पनीले अर्जेन्टिना, युक्रेन, रुस, ब्राजिल लगायतका देशहरुदेखि कच्चा पदार्थ आयात गर्छ । रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य बढेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य उच्च हुँदा नेपाली रुपैयाँले कमजोर प्रर्दशन गरिरहेको छ । जसकारण कम्पनी बाह्य झड्काले प्रभावित हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।