मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

Archana Neupane
0
Shares

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । यसमध्ये ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ३ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनी यस्तो छ

कम्पनीले प्रवद्रधन गरिरहेको ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ । त्यसैगरी, ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ ।

सुरी खोला जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.३७ वर्ष रहेको छ। त्यस्तै, माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.४४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.९५ वर्ष रहेको छ। सुरी खोलाको विद्युत उत्पादन अनुमति २७ वर्ष ८ महिना र माथिल्लो सुरी खोलाको ३१ वर्ष १० महिना बाँकी रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।