अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेटमा करका दर हेरफेर गरेको आरोप लागेका पूर्वनायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार विशेष अदालतमा पूर्वनासु घिमिरे विरुद्ध २ करोड १४ लाख ४६ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । उनले पदमा रहँदा गैरकानुनी सम्पती आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको आयोगको ठहर छ ।
घिमिरेले विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको देखिएको छ । उनले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२ कात्तिक २८ देखि मिति २०७९ पुस १२ गतेसम्मको अनुसन्धान जाँच अवधिमा २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँको वैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारको भनाई छ ।
आयोगले निज तथा निजको श्रीमती शारदा गौतमको नाममा हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र अपुग विगोको हकमा स्रोत खुलेको सम्पत्तिबाट जफत असुल उपर गरी पाउन मागदावी गरेको छ ।
यसैगरी निज रघुनाथ घिमिरेले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी पमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती शारदा गौतमको नाममा खरिद गरिएका जग्गा, घर निर्माण, कम्पनी लगानी, शेयर खरिद र बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च वरावरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढे बढाएको सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया