ओपेक राष्ट्रहरुले कच्चा तेल उत्पादन कटौती गर्दा मूल्य बढ्यो

0
Shares

पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरुको संगठन (ओपेक प्लस) अन्तर्गतका राष्ट्रहरुले कच्चा तेल उत्पादन कटौती गर्ने जनाएका छन् ।

साउदी अरेबिया, इराक, कुवेत, अल्जेरिया, ओमान लगायतका देशहरुले कच्चा तेलको उत्पादन कटौती गर्ने भएका हुन् । साउदी अरेबियाले प्रति दिन ५ लाख ब्यारल र इराकले प्रति दिन २ लाख ११ हजार ब्यारल तेल उत्पादन कटौती गर्ने भएका हुन् । कुवेत, अल्जेरिया, ओमानले प्रति दिन १ लाख ब्यारल कच्चा तेलको उत्पादन कटौती गर्नेछन् ।

साउदी अरेबियाले उत्पादन कटौती गर्नुको पछाडिको कारण अन्तराष्ट्रिय बजारमा तेलको मूल्य स्थायीत्व कायम गर्नु रहेको एक विज्ञप्ति मार्फत जनाएको छ । ओपेक प्लस अन्तर्गतका राष्ट्रहरुले विश्वव्यापी रुपमा उत्पादन हुने कुल कच्चा तेलको ४० प्रतिशत हिस्सा ओगटेका छन् ।

सामान्यतः एशिया क्षेत्रमा ८० डलर प्रति ब्यारलमा आसपासमा कारोबार हुने गर्छ । तथापि ओपेक अन्तर्गतका राष्ट्रहरुले तेल कटौती गर्ने निर्णय गरेपछि कच्चा तेलको मूल्य ४ डलरले बढेर ८४ डलर प्रति ब्यारलमा कारोबार भइरहेको छ ।

सन् २०२२को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि आकाशिएको पेट्रोलियम पदार्थको मूल्य केही महिना यता घटेको थियो । तर ओपेक राष्ट्रहरुले तेल उत्पादन कटौती गर्ने निर्णय गरेसँगै तेलको मूल्य पुनः बढेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।