उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अर्थतन्त्रमा हाल देखिएका समस्याको दीर्घकालिन समाधान खोज्न जरुरी भएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीसँग सोमबार आर्थिक बिषयमा भएको भेटवार्ता तथा छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था जोखिममा रहेको बताए । तरलता अभाव, उच्च ब्याजदर, पुँजीगत खर्च समयमै हुन नसक्ने, बेरोजगारी जस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाई छ । सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।
चेम्बर पदाधिकारीसँगको भेटमा उपराष्ट्रपति यादवले चेम्बरले दिएको सुझावलाई आफूले सरकारी निकायहरुमा ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए । मुलुकमा वास्तविक तथ्याङ्कको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उपराष्ट्रपति यादवले गुनासो गरे । निजी क्षेत्रले पनि सरकारको सारथीको रुपमा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने उपराष्ट्रपति यादवले बताए । सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघि वास्तविक तथ्याङ्क खोज्नुपर्ने उनको भनाई छ ।
चेम्बर अध्यक्ष मल्लले उपराष्ट्रपति यादवसँगको भेटका क्रममा आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरुमा गम्भिर असर गरेको छ ।’
पुँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । राजश्व विभाग, राहदानी विभाग, यातायात कार्यलय जस्ता क्षेत्रमा टाईम बाउण्ड लागू हुनुपर्ने अध्यक्ष मल्ललको भनाई छ ।
आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । नयाँ कर्जा प्रवाह गर्दा ब्याजदरमा लकअप प्रणाली लागू गरिनुपर्ने आफूहरुको माग रहेको मल्लले बताए । लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरु मर्कामा नपर्ने चेम्बरको ठहर छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा पुगेर चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया