आइपीओ जारी गरेको सिटी होटलको आम्दानी १९ करोड, सवा ३ अर्ब कर्जाका लागि रेटिङ

0
Shares

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको सिटी होटल लिमिटेडले सन् २०२२ मा १९ करोड ४० लाख आम्दानी गरेको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात् १६ करोड ६४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छ्ट्याएको छ ।

जसमध्ये ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यस्तै १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो ।

सिटी होटलमा गोल्यान ग्रुपको लगानी रहेको छ । व्यापारिक घराना गोल्यान ग्रुप नै प्रमोटर रहँदा होटल सञ्चालनका लागि आवश्यक पर्ने वित्तीय तथा प्राविधिक सहयोग कम्पनीले पाएको छ । होटलका अध्यक्ष शक्ति कुमार गोल्यान रहेका छन् भने प्रबन्ध निर्देशक अध्यक्ष गोल्यान हुन् ।

सिटी होटलले हायात इन्टरनेशनल–साउथ इस्ट एशियासँग होटल म्यानेजमेन्ट एग्रीमेन्ट गरेको छ । जसकारण सिटी होटल ‘होटल हायात प्यालेस’ ब्रान्डनामबाट सञ्चालनमा रहेको छ ।

सन् २०२१ को नोभेम्बर महिनादेखि होटल सञ्चालनमा आएको छ । १५३ कोठाको उक्त होटलमा एफ एन्ड बी सर्भिस, स्पा, कन्फेरेन्स हल, क्यासिनो लगायतका विभिन्न सुविधाहरु उपलब्ध छन् ।

होटल हायात प्यालेश त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टदेखि ९ किलोमिटरको दूरीमा रहेको छ । होटलले प्रदान गर्ने विभिन्न सुविधाका कारण पछिल्लो समय कर्पोरेट बैठकका लागि पनि आकर्षणको केन्द्र बन्दै आएको छ ।

३ अर्ब २५ करोड ६५ लाख ९० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । ३ अर्ब १७ करोड ६२ लाख ९० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले डबल बी प्लस रेटिङ गरेको छ । यस्तै ८ करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।