नेपालका एक मात्र डलर अर्बपति विनोद कुमार चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा ३० करोड अमेरिकी डलर अर्थात ४० अर्ब रुपैयाँले बढेको छ । विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोब्र्स पत्रिकाका अनुसार अन्य धनाड्यहरुको सम्पत्ति घटिरहेका बेला उनको भने सम्पत्ति बढेको देखिएको हो ।
नेपालका चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर (डलरको विनिमयदर अनुसार हेर्दा नेपाली रुपैयाँमा दुई खर्ब ३६ अर्ब रुपैयाँ) बराबर रहेको फोब्र्सको सूचीमा उल्लेख छ । गत वर्षको तुलनामा चौधरीको सम्पत्ति यस वर्ष ३० करोड अमेरिकी डलरले बढेको फोब्र्सले जनाएको छ । गत वर्ष उनको कुल सम्पत्ति १ अर्ब ५० करोड डलर थियो । चौधरी सन् २०१३ मा पहिलोपटक फोब्र्सको डलर अर्बपतिको सूचीमा प्रवेश गरेका थिए ।
वाइवाइ चाउचाउको उत्पादक कम्पनीका मालिकका रूपमा पनि विश्वभर चिनिएका उनी अर्बपतिको सूचीमा ३१८ स्थानले सुधार गर्दै १६४७ औं स्थानमा परेका छन् । यसअघि गत वर्षको अप्रिल महिनासम्म उनी १९६५ औं स्थानमा थिए । सीजी ग्रुप ग्लोबल, नबिल बैंक, सीजी फुड्स लगायत विभिन्न कम्पनीसँग आबद्ध चौधरीको व्यापार नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा फैलिएको छ । वाइवाइ चाउचाउको भारत, सर्बिया र बंगलादेशमा कारखाना रहेको छ । इजिप्टमा अर्को कारखाना निर्माणको चरणमा छ । उनको कम्पनी सीजी कर्प ग्लोबलले विश्वभर हस्पिटालिटी तथा अन्य क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ भने सम्पत्तिको स्रोतमा विविध क्षेत्रहरूको आर्जनलाई उल्लेख गरेका छन् ।
उनको स्वामित्वमा सीजी ग्रुप अन्तर्गत १४३ वटा व्यवस्थापन तथा स्वामित्व लिइएका होटेल छन् । उनका छोराहरू निर्वाणले नेपालमा तथा राहुल र वरुणले विदेश बसेर सीजी ग्रुप हाँकिरहेका छन् । चौधरी हाल नेपाली कांग्रेसका तर्फबाट नवलपरासीबाट सांसद निर्वाचित भएका छन् ।
चौधरीको सम्पत्ति कहिले कति थियो ?
फोब्र्सका अनुसार चौधरीको सन् २०१४ मा रहेको सम्पत्ति र सन् २०२३ को सम्पीत्त तुलना गर्ने हो भने दश वर्ष अवधिमा ६३.६४ प्रतिशत अर्थात ७० अर्ब डलरले बढेको छ ।
- सन् २०१४ः- १ दशमलव १ अर्ब डलर
- सन् २०१५ः- १ दशमलव ३ अर्ब डलर
- सन् २०१६ः- १ दशमलव १ अर्ब डलर
- सन् २०१७ः- १ दशमलव ३ अर्ब डलर
- सन् २०१८ः- १ दशमलव ५ अर्ब डलर
- सन् २०१९ः- १ दशमलव ७ अर्ब डलर
- सन् २०२०ः- १ दशमलव ४ अर्ब डलर
- सन् २०२१ः- १ दशमलव ४ अर्ब डलर
- सन् २०२२ः- १ दशमलव ५ अर्ब डलर
- सन् २०२३ः- १ दशमलव ८ अर्ब डलर
बेर्नार्ड अर्नोल्ट पहिलो नम्बरमा
फोब्र्सले सार्वजनिक तथ्याङ्क अनुसार सन् २०२३ मा विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति १ खर्ब २२ खर्ब डलर (१२.२ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलर (५ सय बिलियन) ले घटेको छ ।
सन् २०२३ मा विश्वका अर्बपतिहरूको सूचीमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट पहिलो नम्बरमा छन् । उनको कुल सम्पत्ति २ खर्ब ११ अर्ब डलर रहेको छ । ७४ वर्षे मालिक बेर्नार्डको लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डमा लगानी रहेको छ । उनको समग्र सम्पत्ति बढेको छ ।
गत वर्ष पहिलो नम्बरमा रहेका मस्क सहित आधा संख्याका अर्बपतिको सम्पत्ति पहिलेको तुलनामा घटेको छ । विश्वका दोस्रो धनी व्यक्तिका रूपमा रहेका एलन मस्कको सम्पत्ति अहिले घटेर १ खर्ब ८० अर्ब डलर हाराहारीमा झरेको छ । उनी विद्युतीय कार कम्पनी टेस्ला, ट्वीटर र स्पेसएक्सका मालिक हुन् ।
त्यस्तै अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति १ खर्ब १४ अर्ब डलर, टेक्नोलोजी कम्पनीका ओराकलका मालिक लरी इलिसनको १ खर्ब ७ अर्ब, फाइनान्स तथा इन्भेष्टमेन्ट कम्पनी बार्कसेयर हाथवेका मालिक वारेन बफेटको सम्पत्ति १ खर्ब ६ अर्ब, माइक्रोसफ्टका मालिक बिल गेट्सको १ खर्ब ४ अर्ब, ब्लूमवर्गाका मालिक माइकल ब्लुमबर्गको सम्पत्ति ९४ अर्ब ५० करोड, टेलिकम्युनिकेशन कम्पनी कार्लोस स्लिम हेलूको ९३ अर्ब, भारतका अर्बपति मुकेश अम्बानीको ८३ अर्ब ४० करोड र माइक्रोसफ्टका मालिक स्टेभ बल्मेर ८० अर्ब ७० कराड डलर सम्पत्ति सहित अर्बपतिको सूचीमा शीर्ष १० नम्बरमा छन् । यीमध्ये मस्क, बेजोस, बफेट, गेट्स, अम्बानी र बल्मेरको सम्पत्ति मूल्य गत वर्षको तुलनामा घटेको छ ।
फोब्र्सले सार्वजनिक गरेको २०२३ को सुचीअनुसार अर्बपतिको संख्या घटेको छ । सन् २०२२ को लिस्टमा २६६८ जना अर्बपति रहेकोमा २०२३ मा घटेर २६४० मा आइपुगेको छ । फोब्र्सका अनुसार सबैभन्दा बढी अमेरिकामा ७३५ जना अर्बपति छन् । अमेरिकाका अर्बपतिहरुको सम्पत्ति ४.५ ट्रिलियन डलर रहेको छ । चीनमा दोस्रो धेरै ५६२ जना अर्बपतिसँग २ ट्रिलियन सम्पत्ति छ । तेस्रोमा रहेको भारतमा १६९ जना अर्बपति छन् । उनीहरुको सम्पत्ति ६७५ अर्ब अमेरिकी डलर रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया