सेयर बजारबाट रौनकता हराउँदै, रातामै बन्द भयो नेप्से

0
Shares

सेयर बजारको रौनतकता दिनप्रतिदिन घट्दै जान थालेको छ । पछिल्लो समय बजारमा सूचक घटेसँगै बजारप्रति लगानीकर्ताको उत्साहमा समेत कमी हुँदै गएको हो ।

अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंकिङ्ग प्रणालीमा तरलता भएपनि बजारमा लगानीको वातावरण सिर्जना हुन नसक्दा लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् ।

चालु आवको तेस्रो त्रैमास नजिकिँदै गर्दा लगानीकर्तामा आयकर, कर्जाको साँवा तथा ऋण भुक्तानीको दबाब छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार मनोनयन दर्तापछि धेरै लगानीकर्ताहरु चुनावी माहोलमा लागेका छन् । महासंघमा चुनावी सरगर्मी बढ्दा पुँजी बजार भने सेलाएको हो ।

नेप्से ८.२८ अंकले घटेर १८६६ दशमलव ७९ बिन्दुमा झरेको छ । चार कारोबार दिन घटेपछि बुधबार ८.३९ अंकले बढेको बजारमा बिहीबार पुनः रातो पोतिएको हो । ठूला कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ०.९२ अंकले घटेर ३५३ दशमलव ०३ बिन्दुमा अडिएको छ ।
साताको अन्तिम दिन बिहीबाार काराबोरमा आएका २६९ स्क्रिप्टमध्ये १८९ वटाको मुल्य घटेको छ भने ६८ वटाको मात्र मूल्य बढेको छ । यस्तै १२ वटाको मूल्य स्थीर रहेको छ ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये बैंकिङ्ग ०.०४ प्रतिशत, निर्जीवन बीमा ०.०२ र ब्यापार ०.१९ प्रतिशत बढेको छ भने बाँकी दशवटै सूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स १.४२ प्रतिशतले घट्दा, विकास बैंक १.२२, हाइड्रोपावर १.१५ प्रतिशतले घटेको छ ।

आजको बजारमा कालिञ्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कालिञ्चोकको ९.९८ प्रतिशत बढेर ३११ रुपैयाँ ८० पैसा पुगेको छ भने सटिजन्स म्युचुअल फन्ड–२ को इकाईमूल्य ९.९४ प्रतिशत बढेर ७ रुपैयाँ ७४ पैसामा पुगेको हो । यस्तै ग्लोबल आईएमई लघुवित्तको ५.४२, नाडेप लघुवित्तको ४.६५ र नेपाल ल्यूब आयलको ४.०२ प्रतिशतले बढेको छ ।

उता सामलिङ्ग पावरको लगानीकर्ताले सर्वाधिक ७.४३ प्रतिशतले घटेर ४२८ रुपैयाँ ५० पैसामा झरेको छ । खप्तड लघुवित्त ५.८७, सानिमा ग्राथ फन्ड ५.७५, आदर्श लघुवित्त ५.७४ र लक्ष्मी लघुवित्तको सेयरमूल्य ४.६३ प्रतिशतले घटेको छ ।

आजको बजारमा शिवम् सिमेन्टसको सर्वाधिक ४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै नेपाल पुनरबीमा कम्पनीको २ करोड ९६ लाख ७६ हजार, नबिल बैंक २ करोड ९४ लाख ९५ हजार, हिमालयन डिष्टिलरीको २ करोड ३८ लाख र एनआईसी एशिया बैंकको २ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि कुल बजार पूँजीकरण २७ खर्ब ४ अर्ब १६ करोड ५० लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।