नेपाल उद्योग परिसंघले निर्माण क्षेत्रलाई चलायमान बनाएर अर्थतन्त्रलाई गतिशिल बनाउन माग गरेको छ ।
परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बिहीबार नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बधाई दिँदै अर्थतन्त्र सुधारका लागि सुझाव प्रस्तुत गरेको हो ।
अध्यक्ष अग्रवालले मन्त्री प्रकाश ज्वालासँग निर्माण क्षेत्रमा दिईनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह गर्दै त्यसले बजारमा तरलता बढाउन सहयोग पुर्याउने बताए । अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइ लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् । निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्ने गरी अगाडि बढ्नुपर्ने सुझाव परिसंघले दिएको छ ।
परिसंघसँगको भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा सुधार गर्न लाग्ने बताए । उनले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपाय सहितको “रिबुटिङ नेप्लिज इकोनिमी” अवधारणाका लागि धन्यवाद दिए ।
मन्त्रीसँगको भेटमा उपाध्यक्ष विरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी लगायत थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया