बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखियोः अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरेका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । महतले मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको पनि बताए ।

उनले बैंकको कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नु आवश्यक रहेको बताए । मन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले पत्रकारहरुले त्यहीअनुसार समाचार प्रवाह गर्न आवश्यक रहेको उल्लेख गरे ।

आन्तरिक रुपमा लगानी वातावरणको समस्या रहेको बताउँदै उनले भने भने, ‘हाम्रो अर्थतन्त्रको स्वरुप रहेको छ । विदेशबाट आयात गरिएका वस्तुको धेरै हिंसा छ । त्यसबाट मूल्य निर्धारण हुन्छ । त्यसैले मूल्य वृद्धि नियन्त्रणलाई नै मुख्य विषय वस्तु बनाउँदा मौद्रिक नीतिका उपकरण प्रयोग गरे पनि नहुन सक्छ । किनकी आयात बढी हुने भएकाले बाह्य मूल्यको प्रभाव हुँदैन । अहिलेको अवस्थालाई सरकारले कही मौद्रिक नीतिको उपकरण प्रयोग गरेर सहज बनाउन जरुरी छ । त्यसको लागि मन्त्रालयले राष्ट्र बैंकसँग पनि छलफल गरिरहेका छौं ।’

त्यस्तै अर्थमन्त्री डा. महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताए । उनले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्यअनुसार संकलन राम्रो नभएको बताए ।

उनले भने, ‘अहिले सरकारको राजस्वको अवस्था राम्रो छैन । प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राख्दै आएका छौं । नजिक नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौं । चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ । हेरक वर्ष बढी लक्ष्य राखे पनि करिब लक्ष्य प्राप्त गर्ने अवस्था सधै सहज हुँदैन । यो वर्ष आयात प्रतिबन्ध, कोरोना महामारीको अवस्था, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ ।’

अर्थमन्त्री डा.महतले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालू आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।