नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको तालिका सार्वजनिक भएको छ ।
महासंघको निर्वाचन समितिले यही चैत २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार चैत २९ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । उक्त अवधिसम्म मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउनेछन् । यस्तै, विहान ८ बजेदेखि निर्वाचन हुन नसकेमा निर्वाचन रोकिने समयतालिका समेत थपिनेछ ।
महासंघको ५७ औं साधारणसभामा वरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेद्वार प्रतिस्पर्धामा छन्। वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन्। यी तीनै जना उम्मेद्वारले ५० प्रतिशत मत पाउने सम्भावना कम देखिएको छ।
यस्तै, पहिलोचरण वरिष्ठ उपाध्यक्षको उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार मत नल्याएमा दोस्रो चरणको मतदान हुनेछ । र, दोस्रो चरणको मतदान चैत ३० गते नै दिउँसो ११ देखि साँझ ५ बजेसम्म हुनेछ ।
मतदाताले मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका प्रज्वलनशील पदार्थ लग्न पाउने छैनन् । यसका साथै, मतदाताले मादक पदार्थ सेवन गरेर समेत मतदान केन्द्रमा जान नपाउने व्यवस्था छ ।
वरिष्ठ उपाध्यक्षमा त्रिपक्षिय भीडन्त हुँदै
दर्ता भएको उम्मेदवार अनुसार एक पदका लागि हुने वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षहरु अन्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
नाडा अटोमोवाइल्स एशोसियशन नेपालको तर्फबाट कास्कीका ५३ वर्षिय अन्जन श्रेष्ठ र त्रिवेणी स्पिनिङ्ग मिल्सको तर्फबाट प्रतिनिधत्व गर्दै काठमाण्डौंका ६२ वर्षिय रामचन्द्र संघाई तथा क्वेष्ट फर्मास्यूटिकल्सको तर्फबाट प्रतिनिधित्व गर्दै काठमाण्डौंका ६६ वर्षिया उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
तीन उपाध्यक्षका लागि आठको उम्मेदवारी
तीन जना उपाध्यक्ष पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । जसमा उद्योग वाणिज्य समुह अन्तर्गत सुरकृष्ण वैद्य, अरूणराज सुमार्गी र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको तर्फबाट मनोमनयन दर्ता गराएका ६५ वर्षिया श्रेष्ठ हालका पनि उपाध्यक्ष हुन् भने वैद्य र सुमार्गी नयाँ प्रतिस्पर्धामा उत्रिएका हुन् । ५८ वर्षिया वैद्यले काभ्रे उद्योग वाणिज्य तर्फबाट प्रतिनिधित्व गर्दछन् भने मकवानपुर उद्योग वाणिज्य संघका सुमार्गी पनि उपाध्यक्ष चयन हुने प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका सुमार्गीको उमेर ५६ वर्ष रहेको छ ।
यस्तै वस्तुगत उपाध्यक्षतर्फ सकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दिएका छन् । हिराचनले कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनको तर्फबाट, प्रधानले नेपाल रत्न तथा आभुषण संघ तथा ढकालले
नेपाल चिया उत्पादक संघको तर्फबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराएका हुन् । हालका कोषध्यक्ष समेत रहेका हिराचनको उमेर ६५ वर्ष, प्रधानको ५४ र ढकालको ५५ वर्ष रहेको छ ।
त्यसैगरी एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा श्रेष्ठ र आचार्य दुबै एसोसिएट सदस्यको रुपमा निर्वाचित भएका थिए । हाल ५९ वर्षिया श्रेष्ठ पर्यटन तथा हवाई यातायात समिति तथा ४४ वर्षिया आर्चाय उद्योग समितिको अध्यक्ष रहेका छन् ।
उद्योग वाणिज्य समुह (जिल्ला नगर), बस्तुगत समुह र एशोसियट समुहबाट एक एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
प्रदेश अन्तर्गत ७ सदस्य पदका लागि १५ जनाको उम्मेदवारी
महासंघको प्रदेश अन्तर्गत निर्वाचन हुने ७ पदको कार्यकारिणी सदस्यका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कोशी र कर्णली प्रदेशमा ३–३ जनाका दरले, मधेश, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा २–२ जनाको दरले उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशमा भने एक जनाको मात्र उम्मेदवारी परेपछि जम्शेर मिया निर्विरोध निर्वाचित भएका छन् । चन्द्रौटा उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्ने अर्घाखाँचीका मियाको उमेर ५१ वर्षको रहेको छ ।
कोशी प्रदेशबाट महासंघको सदस्यका लागि प्रतिनिधित्व गर्न उद्योग वाणिज्य संघबाट इटहरीको तर्फबाट सुनसरीका टंक प्रसाद दुलाल, मेची उद्योग वाणिज्य संघको तर्फबाट झापाका नरेन्द्र कुमार खड्का र ताप्लेजुङ्ग उद्योग वाणिज्य संघको तर्फबाट तारानाथ घिमिरे सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । दुलालको उमेर ५५ वर्ष, खड्काको ५४ र घिमिरेको ६१ वर्ष रहेको छ ।
यस्तै मधेश प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि महोत्तरी उद्योग वाणिज्य संघको तर्फबाट महोत्तरीका विजय कुमार शाह र सप्तरी उद्योग वाणिज्य संघको तर्फबाट राजविराजका अरुण कुमार प्रधान सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । शाहको उमेर ४९ वर्ष र प्रधानको ६० वर्ष रहेको छ ।
वागमती प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि झक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट कृष्ण प्रसाद अवाल र ललितपुर उद्योग वाणिज्य संघको तर्फबाट सबिन श्रेष्ठ सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । अवालको उमेर ६२ वर्ष र श्रेष्ठको ४८ वर्ष रहेको छ ।
यसैगरी गण्डकी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि गोरखा उद्योग वाणिज्य संघको तर्फबाट जीवनज्योति श्रेष्ठ र वाग्लुङ्ग उद्योग वाणिज्य संघको तर्फबाट युवराज राजभण्डारी सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । श्रेष्ठको उमेर ५६ वर्ष र राजभण्डारीको ५० वर्ष रहेको छ ।
त्यस्तै कर्णाली प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि प्रतिनिधित्व गर्न डोल्पा उद्योग वाणिज्य संघको तर्फबाट लिलिमान बुढा, सुर्खेत उद्योग वाणिज्य संघको तर्फबाट धनबहादुर रावत क्षेत्री र दैलेख उद्योग वाणिज्य संघको तर्फबाट कुल बहादूर विश्वकर्मा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । प्रत्याशी बुढाको उमेर ४९ वर्ष, क्षेत्रीको ५८ वर्ष र विश्वकर्माको ६१ वर्ष रहेको छ ।
सुदूरपश्चिम प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि टिकापुर उद्योग वाणिज्य संघको तर्फबाट राम बहादुर भण्डारी र कञ्चनपुर उद्योग वाणिज्य संघको तर्फबाट जंग बहादुर मल्ल सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । भण्डारीको उमेर ४० वर्ष र मल्लको ४४ वर्ष रहेको छ ।
संस्थापक समुहबाट न्यौपाने र ढकालको प्रतिस्पर्धा
महासंघको केन्द्रीय सदस्यका लागि संस्थापक समुहको तर्फबाट भीष्म प्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा उत्रिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको तर्फबाट ५५ वर्षिया न्यौपाने र झापा उद्योग वाणिज्य संघको तर्फबाट ५९ वर्षिया ढकाल सदस्यका लागि मैदानमा रहेका छन् ।
वस्तुगतबाट १४ केन्द्रिय सदस्यका लागि २८ को उम्मेदवारी
महासंघको वस्तुगत संघ तर्फबाट १४ जना केन्द्रिय सदस्यका लागि दुई महिला सहित २८ जनाको उम्मेदवारी परेको छ । जसमा काठमाण्डौंको मात्रै ११ जना रहेका छन् । ललितपुर, नुवाकोट, चितवन निवासी २/२ जनाले उम्मेदवारी दर्ता गराउँदा धादिङ्ग, सिन्धुपाल्चोक, पर्वत, इलाम, काभ्रे, अर्धाखाँची, सुनसरी, सिराह, मकवानपुर, पर्सा, कास्कीका एक/एक जनाले उम्मेदवारी दिएका छन् ।
उद्योग वाणिज्यबाट १८ सदस्य पदका लागि ३२ जनाको उम्मेदवारी
निर्वाचन समितिका अनुसार उद्योग वाणिज्य संघतर्फ १८ जना केन्द्रीय सदस्यका लागि एक महिला सहित ३२ जनाले उम्मेदवारी दिएका छन् । जसमा ३७ देखि ६९ वर्षसम्मका उम्मेदवार रहेका छन् ।
एसोसिएटतर्फ १९ केन्द्रीय सदस्यका लागि ३० भिड्दै
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट समुहको तर्फबाट निर्वाचित हुने १९ महासंघको केन्द्रीय सदस्यका लागि ३० जना चुनावी मैदानमा उत्रिएका छन् । यस समुहको चुनावका लागि काठमाण्डौंका मात्रै ११ जना रहेका छन् । यस्तै ललितपुरबाट ३ जना, पर्साका २ तथा काभ्रे, अर्घाखाँची, रामेछाप, चितवन, धादिङ्ग, गुल्मी, सिन्धुपाल्चोक, सुनसरी, कास्की, मोरङ्ग, धनकुटा, बर्दिया, स्याङ्जा, रुपन्देही जिल्लाबाट एक÷एक जनाले उम्मेदवारी दिएका छन् ।
द्धिराष्ट्र उद्योग वाणिज्यबाट केसी निर्विरोध
महासंघको केन्द्रीय सदस्यमा द्धिराष्ट्र उद्योग वाणिज्य संघबाट दाङका सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । ३१ वर्षिया केसी नेपाल भारत उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधित्व गर्दछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया