सेयर बजारमा बुधबार डेढ घण्टामा अर्ध शतक बढीको वृद्धि छाएको छ । कारोबारको एक घण्टा ३० मिनेट नबित्दै नेप्सेमा उच्च अंकको उछाल आएको हो ।
बुधबारको नेपाल बैंकर्स संघको बैठकले आगामी बैशादेखि लागू हुनेगरी ब्याजदर १ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेसँगै बजारमा गुल्जार छाएको हो । साथै मंगलबारको कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री उद्योग मन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नर समेतले देशको आर्थिक अवस्थामा सुधार आएको बताएपछि घट्दै आएको बजारमा बढ्न थालेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभामा बोल्दै सरकारका प्रतिनिधिहरुले व्यवसायीको समस्याको समाधान गर्दै अर्थतन्त्र सुधारमा लाग्ने प्रतिबद्धता जनाएका थिए । यसको सकारात्मक असर पुँजी बजारमा देखिएको हो ।
बुधबार १२ः२७ बजेसम्ममा नेप्से ५१.५८ अंकले बढेर १९२३.९१ बिन्दुमा पुगेको छ । कारोबारमा आएको सबै उपसमुहगत सूचकहरुमा वृद्धि आएसँगै नेप्से २.८१ प्रतिशतले बढेको हो । यस अवधिमा २५५ कम्पनीको २० लाख १२ हजार ७३३ कित्ता सेयर ६४ करोड ७६ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
आदर्श लघुवित्त, मिर्मिरे लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड,को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिटिजन्स म्युचुअल फन्ड–१ को सेयर मूल्य ५.८२ प्रतिशतले घटेको छ ।
यस अवधिमा शिवम् सिमेन्टसको सर्वाधिक ४ करोड ३ लाख बढीको कारोबार हुँदा हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, हिमाल दोलखा हाइड्रोपावर र सानिमा तमोर हाइड्रोपावरको धेरै कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया